अन्तर्राष्ट्रिय

किम जोङ-उनलाई ‘पुड्के र मोटे’ भन्दिन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर फेरि वाक्युद्ध सुरु भएको छ ।
अत्यन्तै गरम अवस्थामा रहेको कोरियाली प्रायद्वीपको समस्या हल गर्नका लागि मध्यस्तकर्ताको आह्वान गर्नु अघि अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि उत्तर कोरियाविरुद्ध वाकयुद्ध सुरु गरेका छन् ।
उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुढो मानिसको संज्ञा दिएको विषयलाई प्रतिक्रिया दिँदै  ट्रम्पले ट्विटरमार्फत उत्तर कोरियाली शासक किम जोङ–उनलाई कहिले पनि ‘पुड्के र मोटे’ नभन्ने बताएका छन् । उत्तर कोरियाली विदेशमन्त्री शनिबार ट्रम्पलाई ‘युद्ध रुचाउने’ र ‘वृद्ध व्यक्ति’ भनेका थिए । ट्रम्पको आलोचना गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले प्योङयाङले परमाणु अस्त्रको विकास नरोक्ने पनि बताएका थिए ।
‘साउथ चाइना सी’ को विषयमा विभिन्न देशबीच भइरहेको विवाद समाधानका लागि आफू मध्यस्तकर्ताको भूमिका निभाउन तयार रहेको बारेमा शृंखलाबद्ध रुपमा आफ्नो विचार सामाजिक सञ्जालमा राख्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ–उनका बारेमा पनि ट्विट गरेका हुन् । ट्रम्पले उत्तर कोरियाले आफूलाई किन बूढो भनेर अपमान गरेको होला भन्दै ट्विट गरेका छन् । आफूले उत्तर कोरियाली नेता किम जोङ–उनको साथी बन्न एकदमै प्रयास गरेको भन्दै उनले कुनै दिन त्यो सम्भव हुनसक्ने विश्वास पनि सार्वजनिक गरेका छन् । यसअघि किम जोङ–उनको खिल्ली उडाउँदै ट्रम्पले उनलाई ‘पागल’ र ‘सानो रकेट मान्छे’ भनेका थिए ।
केही महिनाअघि संयुक्त राष्ट्रसंघीय महासभामा सम्बोधन गर्दै ट्रम्पले उत्तर कोरियालाई सिध्याइदिने चेतावनी पनि दिएका थिए । त्यसप्रति प्रतिक्रिया जनाउँदै किम जोङ–उनले ट्रम्पलाई दिमागी हालत ठीक नभएको गुण्डा भनेका थिए ।

दुई नेताबीच वाक्युद्ध चलिरहँदा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले ट्रम्प र किम जोङ–उनबीचको वाक्युद्ध साना बच्चाहरुको झगडा जस्तै भएको बताएका थिए ।

‘म एकदमै राम्रो मध्यस्तकर्ता हुँ,’ ट्रम्पको ट्विट उल्लेख गर्दै बिबिसीले जनाएको छ । चीन, भियतनाम, फिलिपिन्स, ताइवान, मलेसिया र ब्रुनाईले साउथ चाइना सीको भूभागका बारेमा आ–आफ्नै दाबी पेश गर्दै आएका छन् । साउथ चाइना सीका बारेमा चीनसँग भियतानम र फिलिपिन्स दुवैको तनाव चलिरहेको छ । यस विषयमा यसै वर्षको अगस्ट महिनामा तीन वटै देशले मान्ने विषयको आचारसंहिताको प्रारुप तयार गरिएपनि त्यो केवल रुपरेखा मात्रै भएको र त्यसलाई वैधानिक रुपमै बाँध्नका लागि थुप्रै सम्झौताको आवश्यकता रहेको बताउँदै आइएको छ । आफू सम्झौता गराउन माहिर रहेको भन्दै साउथ चाइना सीको विवाद समाधानका लागि आफ्नो विज्ञताले काम गर्नसक्ने सुझाव ट्रम्पले दिएका छन् ।
‘साउथ चाइना सीको विवाद समाधान गर्न यदि मैले मध्यस्तकर्ताको भूमिका खेल्न सक्छु भने मलाई जानकारी दिनुहोला,’ एसिया–प्यासिफिक सम्मेलनका क्रममा भियतनामी समकक्षी ट्रान दाई क्वाङसँगको भेटवार्ताका क्रममा ट्रम्पले बताएका थिए ।

प्रकाशित: २७ कार्तिक २०७४ ०३:५४ सोमबार

किम जोङ-उनलाई मोटे भन्दिन ट्रम्प