अन्तर्राष्ट्रिय

सिरियामा रुसी सेनाको कारबाहीमा २२ बिद्रोही मारिए

बेरुत – उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी सोमबार साँझ २२ जना विद्रोहीको मृत्यु भएको छ। 

मारिनेमा सिरियाका विद्रोही लडाकूहरु रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका छन्। सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियाली विद्रोहको अवस्थाका बारेमा अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ। 

उक्त अधिकारवादी संस्थाका अनुगमनकर्ताले मङ्गलबार बिहान सो जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्याममा उल्लेख गरिएको छ।

सोमबार साँझपख हवाई सेनाले कारबाही थालेको थियो । कारबाहीका क्रममा २२ जनाको ज्यान गएको बताइएको छ । तर उक्त कारबाही किन गर्नु परेको हो भन्ने बारेमा भने रुसी वा सिरियाली सेनाले केही बताएको छैन।  

रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्य गरेर सो कारबाही गरेको विगतमा पनि बताउने गरेको थियो । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ। 

सिरियामा जारी गृहयुद्धका कारण गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा भइरहेको छ। यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन्। 

पछिल्लो समयमा यहाँ आतंककारी समूहहरुको पनि घुसपैठ सुरु भएको छ। जसका कारण सिरियामा हिंसाका नयाँ नयाँ रुप भित्रिएका बताइन्छ। 

प्रकाशित: ८ कार्तिक २०७४ १०:५६ बुधबार

सिरियामा रुसी सेनाको कारबाहीमा २२ बिद्रोही मारिए