अन्तर्राष्ट्रिय

इराकमा वैवाहिक समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु

उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्।

इराकको सरकारी सञ्चारमाध्यमहरुका अनुसार १५० जना घाइते भएका छन। इराकको उत्तरी निनेभ प्रान्तको अल-हम्दानिया जिल्लामा मंगलबार अबेर उक्त घटना भएको थियो।

इराकी समाचारसंस्था निनाले पोस्ट गरेको तस्बिरमा आगो निभाउन दर्जनौँ अग्निनियन्त्रकहरू लागिपरेको देख्न सकिन्छ।

उक्त भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्जवलनशील भएकाले आगो सजिलै फैलिएको हुनसक्ने अनुमान गरिएको छ। आगो लागेपछि हलको छतको केही भाग नै खसेको छ।

आगलागीको कारण खुलिसकेको छैन। विवाहको अवसरमा आतसबाजी गर्दा आगो फैलिएको प्रारम्भिक विवरणहरूमा उल्लेख छ।

इराकको आन्तरिक मामिला मन्त्रालयका अनुसार उक्त स्थलमा काम गर्ने नौजनालाई पक्राउ गरिएको छ भने अन्य चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

प्रकाशित: १० आश्विन २०८० १२:४४ बुधबार

उत्तरी इराक आगलागी