अन्तर्राष्ट्रिय

ट्रम्पको ट्विटले युद्ध घोषणा गर्यो : प्योङयाङ

वासिङ्टन, असोज १० (एपी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आइतबारको ट्विट ‘युद्धको घोषणा’ भएको उत्तर कोरियाका वरिष्ठ कूटनीतिज्ञ एंव विदेशमन्त्री री योङ–होले आरोप लगाएका छन् ।
उनले अमेरिकी बम वर्षक र युद्धक विमानहरु उत्तर कोरियाली आकाशमा नभएर अन्तर्राष्ट्रिय आकाशमा उडेको भएपनि गोली हानेर खसाल्ने अधिकार रहेको समेत दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघीय महासभाको वार्षिक बैठकका बेलादेखि सुरु भएको संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचका गैरकूटनीति भनाई चलिरहेका बेला विदेशमन्त्री रीको एक साताबीचमा आएको यो पछिल्लो आरोप हो ।  
विदेशमन्त्री रीले संवाददातासँग बोल्दै भने, ‘संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले वास्तविक युद्धमा जानका लागि पछिल्ला दिनमा उनीहरुले युद्धका भाषा चाहदैनौं भनेका छन् ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरियाली नेता किम जोङ–उनको आयु अब धेरै नरहेको भन्ने ट्विटले आफ्नो देशविरुद्ध युद्धको घोषणा गरेको उनले बताए । संयुक्त राष्ट्रसंघको बडा पत्र अनुसार उत्तर कोरियासँग आत्मसुरक्षाको अधिकार रहेको बताउँदै विदेशमन्त्री रीले भने,‘प्रतिरक्षाका लागि संयुक्त अधिराज्य अमेरिकाको बम वर्षक र युद्धक विमानहरु उत्तर कोरियाली आकाशमा नभएपनि गोली हानेर खसाल्ने अधिकारसहित सबै खालको अधिकार रहेको छ ।
उत्तर कोरियाली विदेशमन्त्री रीले अमेरिकाले युद्धको घोषणा गरेको आरोप लगाएको केही घण्टापछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उनको भनाईको खण्डन गर्दै अमेरिकाले उत्तर कोरियाविरुद्ध युद्धको घोषणा नगरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार गरेको ट्विटलाई उद्धृत गर्दै ह्वाइट हाउसले उत्तर कोरियाली सरकार परिवर्तनको पक्षमा अमेरिका नरहेको प्रष्ट पारेको छ ।
अमेरिकी मन्त्रीपरिषद्का अधिकारी त्यसमा पनि विशेषगरी विदेशमन्त्री रेक्स टिलरसनलगायतले उत्तर कोरियाको तत्लो प्रकृतिको आणविक हतियार कार्यक्रमलाई हटाउने विषयमा अमेरिका नेतृत्वले कूटनीतिक र आर्थिक दबाब  दिएको भएपनि उसको एक दलीय सरकारका विरुद्धमा केही नगरेको बताउँदै आएका छन् । विदेशमन्त्री टिलरसनलगायतले यस्तो दाबी गरेतापनि अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो गतिविधिले उत्तर कोरियाको आणविक कार्यक्रमलाई कूटनीतिक माध्यमबाट हटाउनका लागि आवश्यक पर्ने चीन र रुससँगको सहकार्यमा अप्ठेरो पर्न सक्ने बताइएको छ । उत्तर कोरियाको समस्या तत्कालका लागि कूटनीतिक माध्यमबाट मात्रै सम्भव रहेको छ र तत्काल अमेरिका र उसको गठबन्धनले उत्तर कोरियाको सीमानामा बम खसालेर यो समस्या हल नहुने विज्ञहरुले बताउने गरेका छन् । उत्तर कोरियाली शासक किम जोङ नेतृत्वको सरकार प्रत्याभूति नभएसमम्म प्योङयाङ सहमतिमा नआउने पनि बताइएको छ ।
‘संयुक्त राष्ट्रसंघको महासभामा उत्तर कोरियाली विदेशमन्त्रीले बोलेको भर्खरै सुनें । यदि उनले रकेट म्यानको सानो रुपमा सम्बोधन गरेको हो भने उनीहरुको आयु धेरै छैन,’ अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ट्विट गरेका छन् । ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनलाई पटक पटक ‘रकेट म्यान’ को संज्ञा दिँदै गत साताको मंगलबार (सेप्टेम्बर १९) संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन राखेको भएपनि शनिबार गरेको ट्विटमा विदेशमन्त्रीलाई ‘सानो’ शब्द थपेर ‘सानो रकेट म्यान’ संज्ञा दिएका थिए ।
उत्तर कोरियाले दुई देशबीच युद्धको घोषणा भएको भन्ने भनाई पहिलो चोटी भने राखेको हैन । यस अघि सन् २०१६ को जुलाई महिनामा अमेरिकाद्वारा किम जोङ उनविरुद्धमा लगाइएको नाकाबन्दी जनताको लोकतान्त्रिक गणतान्त्रिक कोरियाविरुद्ध ‘युद्धको घोषणा’ भएको बताएको थियो । त्यसपछि गत डिसेम्बरमा प्योङयाङविरुद्ध थप प्रतिबन्ध लागू भएपछि पनि उत्तर कोरियाले यस्तै आरोप लगाएको थियो र अहिले पनि उत्तर कोरियाका वरिष्ठ कूटनीतिज्ञले यस्तै भाषाको प्रयोग गरेका छन् ।
महासभाको बैठक सकाएर प्योङयाङ जाने क्रममा आफू बसिरहेको होटल अगाडि संवाददाताहरुको भीडमा संक्षिप्त मन्तव्य राख्दै विदेशमन्त्री रीले दिएको पछिल्लो भनाईले किम र ट्रम्पबीचमा थप वाक्युद्ध हुने संकेत देखिएको छ ।
‘संयुक्त राज्य अमेरिकासँग ठूलो क्षमता र धैयर्ता छ तर यदि अमेरिका र उसका सहयोगी राष्ट्रको संरक्षण गर्नुपर्ने अवस्था आयो भने हामीसँग उत्तर कोरियालाई ध्वस्त पार्नुको विकल्प हुनेछैन,’ सेप्टेम्बर १९ का दिन संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएका विश्वका नेताका सामु ट्रम्पले भनेका थिए । उनले रकेट म्यान आफू र आफ्नो शासन दुवैको आत्महत्या गर्ने मिसनमा रहको समेत बताएका थिए ।
ट्रम्पको यस्तो चेतावनी मुलक सम्बोधन आएपछि उत्तर कोरियाली शासक किम जोङ उनले पहिलो पटक प्रत्यक्ष रुपमा प्रतिक्रिया जनाउँदै ट्रम्पको आलोचना गरेका छन् ।
‘म साँच्चिकै र वास्तविक रुपमै दिमाग खुस्केका बुढा ट्रम्पलाई देखाइदिन्छु,’ उत्तर कोरियाली शासकले बताएका थिए ।
‘ट्रम्पले विश्व समुदायका अगाडि म र मेरो देशको अस्तित्व अस्विकार गर्दै म र मेरो देशको बेइज्जत गरेका छन् तथा उत्तर कोरियालाई ध्वस्त पार्छु भनेर इतिहासमै भिन्न रुपले युद्धको घोषणा गरेका छन् । हामी हाम्रो अभियानमा निरन्तर चलिरहन्छौं,’ किमले बताएका थिए ।
विदेशमन्त्री रीले सोमबार उत्तर कोरियाले युद्ध चाहेको भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको आरोपलाई समेत अस्विकार गरेका छन् । ‘संयुक्त राष्ट्रसंघमा रहेका सबै सदस्य राष्ट्रले अमेरिकाले उत्तर कोरियाका विरुद्ध पहिले युद्धको घोषणा गरेको सम्झिनु पर्दछ,’ विदेशमन्त्री रीले बताए । उनले अब आफ्नो देशको प्रतिरक्षा गर्न पनि उत्तर कोरियाले पाउने समेत बताएका छन् । आफ्नो छोटो भनाई अन्त्य गर्दै रीले को रहने र को नरहने भन्ने प्रश्न त्यसपछि प्राप्त हुने बताए ।  

 

प्रकाशित: ११ आश्विन २०७४ ०३:२६ बुधबार

ट्रम्पको ट्विटले युद्ध घोषणा गर्यो प्योङयाङ