अन्तर्राष्ट्रिय

राेहिज्या महिलाहरूमाथि बलात्कार

म्यानमार – म्यानमारको रोहिज्या समुदायका कतिपय महिलाहरू देश छोडेर भाग्ने क्रममा बलात्कारको शिकार भएका छन्। 

कतिपय महिलाहरूको बलात्कार पछि हत्या समेत गरिएको खुलासा भएको छ । लाजका कारण बलात्कार बारे नखुलेको बंगलादेशका डाक्टरहरूको भनाई छ। 

सेनाको ज्यादती पश्चात् ज्यान जोगाउनका लागि बंगलादेश आइपुगेकी हजीरा बेगम बलात्कृत भएकी छिन्। बलात्कृत भएतापनि ज्यान भने जोगाएकी छु। उनी भन्छिन् मेरो छोरा भने गायब छ । उनको छोरा सेनाको नियन्त्रणमा हुन सक्ने अनुमान उनले गरेकी छिन्। 

बलात्कृत कतिपय महिलाहरूले बलात्कृत भएपछि गर्भवती हुनबाट बच्नका लागि सेनासँग औषधीका लागि आग्रह गरेतापनि उनीहरूले औषधी पाएका छैनन्। 

म्यानमारबाट बंगलादेश आएका अधिकांश पुरूषहरूको हत्या र महिलाहरू माथि यौन दुव्र्यवहार गरिएको पाइएको छ।

म्यानमारबाट भागेर बंगलादेश आएका मोहम्मद इलिसासले महिलाहरू यौन दुव्र्यवहारको शिकार बनेको बताए । बलात्कारको घटना सार्वजनिक भएमा आफूलाई हेरिने दृष्टिकोण फरक हुने कारणले बलात्कार बारे महिलाहरूले सार्वजनिक गर्न नसकेको दाबी इलिसासको छ। 

बंगलादेशले बलात्कृत महिलाहरूको उचित उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अहिलेसम्म करिब १८ बलात्कारका घटना भएको अनुमान गरिएको छ।   

रोहिज्या समुदायमाथिको ज्यादतीलाई बन्द गर्नका लागि म्यानमार सरकार माथि अन्र्तराष्ट्रिय रूपमा दबाब आउन थालेका छन् । ब्रिटेन र अमेरिकाले तत्कालै हिंसा अन्त्य गर्नका लागि आग्रह म्यानमार सरकारलाई गरेको छ।  

अमेरिकी विदेशमन्त्री रेक्स टिर्लसनले रोहिज्या समुदायमाथिको हिंसा तत्कालै बन्द गर्नका सरकारलाई आग्रह गरेका छन्। 

म्यानमारकी नेतृ आङ साङ सुकीले जटिल अवस्थाको सामना गर्दै हिंसा हटाउने साहस गर्नुपर्ने विश्व समुदायको धारणा रहेको छ। उनीहरूका अनुसार सुकीले हिंसा रोक्नका लागि नैतिक प्रभाव देखाउनु आवश्यक छ। 

सुकीले देशबाट पलायन भएका रोहिज्या समुदायलाई फर्काउने वातावरणको सृजना गनुपर्ने विश्व समुदायको आग्रह रहेको छ । 

प्रकाशित: ३१ भाद्र २०७४ ०७:०५ शनिबार

राेहिज्या महिलाहरूमाथि बलात्कार