अन्तर्राष्ट्रिय

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

चैपास – मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ। 

दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो। भूकम्प ३३ किलोमिटर गहिराईको रहेको पनि अधिकारीहरुले जनाएका छन्। 

बिहीबार राती राजधानी मेक्सिको सिटीका नागरिकहरु भूकम्पको बेला घरहरुबाट बाहिर भागेर खुल्ला सडकमा पुग्न सफल भएका थिए। 

मेक्सिकोमा रहेको चिनियाँ दुतावासले अहिलेसम्म मृत्यु भएकाहरु मध्ये चिनियाँ नागरिक नपरेको जनाएको छ। 

एक जना स्थानीयले भने, “भूकम्प गएको बेला मैले बेलुकाको खाना खाईरहेको थिए। म तत्काल घर बाहिर दौडिएँ, त्यहाँ सडकमा एक सय भन्दा बढी मानिस आईसकेका थिए। ती मध्ये अधिकांश रात्री पोशाकमा रहेका थिए।” 

उनले थपे, भूकम्प गएको २० मिनेटमा विद्युत सेवा अवरुद्ध भयो, अधिकांशले आफ्ना कार खुल्ला ठाँउमा रोकेका थिए, रातभरी उनीहरु त्यसैमा सुते। 

भूकम्पले १२ वटा राज्यका झण्डै ५ करोड जनता प्रभावित भएका छन भने ३६ वटा शव क्षतविक्षत अवस्थामा भेटिएको छ। 

मेक्सिकोका राष्ट्रपति इनरिक पेना टिएटोले शुक्रबार राती टेलिभिजन सम्बोधनमा ६१ जनाको मृत्यु भएको बताएका छन्। 

मृत्यु भएका मध्ये ४५ जना ओक्साका राज्य, १२ जना चिआपास र चार जना ताबास्को राज्यका रहेका जनाइएको छ। 

मेक्सिकोमा केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटर टाढासम्म भूकम्पको व्यापक असर परेको छ । भूकम्पले सो क्षेत्रमा कैयौँ घर भत्किएका छन्।

प्रकाशित: २४ भाद्र २०७४ ०९:५९ शनिबार

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो