अन्तर्राष्ट्रिय

९० हजार रोहिज्याले म्यानमार छाडे

 म्यानमार –  अगस्ट महिनामा म्यानमारमा भएको द्वन्द्वका कारण करिब ९० हजार रोहिज्या मुसलमान समुदायले म्यानमार छोडी बंगलादेशमा स्थानान्तरण भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। 

सेनाहरूले जानी जानी मुसलमान रोहिज्या मुसलमानहरूको घर जलाइदिएको आरोप रोहिज्या समुदायले लगाएको छ । तर म्यानमार सरकारले भने उनीहरूको उक्त आरोपलाई अस्वीकार गर्दै आइरहेको छ ।

संयुक्त राष्ट्रसंंघका अनुसार अल्पसंख्यक रूपमा रहेका रोहिज्या मुसलमान शरणार्थीहरू विद्रोही र सुरक्षाकर्मी बीचको द्वन्द्वमा ज्यान गुमाउने डरका कारण बंगलादेश तर्फ पलायन भएका हुन् । हाल बंगालदेशको शरणार्थी शिविरमा करिब १० हजार रोहिज्या शरणार्थीहरू रहेका छन् । 

सुरक्षाकर्मी र विद्रोहीबीचको संघर्षको द्वन्द्वमा परी  करिब ४०० जनाले ज्यान गुमाइसकेका छन्। 

सेनाले जानी जानी  उनीहरूको घर जलाएको भन्दै आक्रोशित देखिएका उनीहरूले गत साता ३० प्रहरी चौकीमा आक्रमण गरे पश्चात् आन्दोलन अझै चर्किएको थियो। 

पछिल्लो पटक भएको हिंसामा परी कम्तीमा १०० जना शरणार्थीहरूको मृत्यु भएको थियो । गत महिना म्यानमारको राखिने प्रान्तमा प्रहरीको मृत्यु भएपश्चात् आन्दोलन हिंसात्मक बनेको थियो । रोहिज्या मुसलमानहरूको बसोबास रहेको राखिने प्रान्तबाट करिब १ लाखको संख्यामा उनीहरू विस्थापित भएका छन्। 

सेनाले उनीहरू माथि कारवाहीका लागि हेलिकप्टरको प्रयोग गरेको थियो । सन् २०१२ देखि नै म्यानमारमा रोहिज्या समुदायका मानिसहरूले सरकार विरूद्ध संघर्ष गर्दै आइरहेका छन्। 

लामो समयदेखि म्यानमारमा बसोबास गर्दै आइरहेका उनीहरूलाई सरकारले नागरिकता दिनका लागि इन्कार गर्दै आइरहेको छ। 

 

प्रकाशित: १९ भाद्र २०७४ १०:४४ सोमबार

९० रोहिज्याले म्यानमार छाडे