अन्तर्राष्ट्रिय

भारतीय सेना हट्नु स्वागतयोग्य : भुटान

थिम्पु– चीन, भारत तथा भुटानको सीमा क्षेत्रमा पर्ने दोक्लामबाट भारतीय सैनिक फिर्ता गर्ने भारत सरकारको निर्णय स्वागतयोग्य भएको भुटानले जनाएको छ।

भुटान विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दोक्लाम क्षेत्रबाट भारतीय सेना हट्ने निर्णय स्वागत योग्य भएको बताएको हो। सोमबार भारतीय विदेश मन्त्रालयले विवादित सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता गराइएको भन्दै एक विज्ञप्ति जारी गरेको थियो।

भारत विदेश मन्त्रालयको उक्त निर्णय लगतै चिनियाँ मन्त्रालयले दोक्लाम विवादबाट भारत पछाडि हटेको अभिव्यक्ति दिएको थियो। उसले दोक्लाममा चिनियाँ सेनाको गस्ती जारी रहने जनाएको छ।

चीनले सडक निर्माण गर्न थालेको उक्त क्षेत्रमा भारतीय हस्तक्षेप भएपपछि  चीन, भारत तथा भुटानको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गत जुन १८ देखि सैनिक तैनाथ गरिएको थियो। बढ्दो सीमा विवादका कारण  चीनले निर्माण गर्न थालेको सडक विस्तार कार्य समेत प्रभावित भएको छ।

सीमा क्षेत्रमा देखिएको विवादका कारण केही समययता भारत र चीनबीचको कुटनीतिक सम्बन्धमा चिसोपना आएको थियो।
 

प्रकाशित: १४ भाद्र २०७४ १२:०६ बुधबार

भारतीय सेना हट्नु स्वागतयोग्य भुटान