अन्तर्राष्ट्रिय

सबै देशबाट राजदूत फिर्ता बोलाउन निर्देशन

पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ। राष्ट्रपति बोला अहमद टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका सबै राजदूतलाई शनिवार फिर्ता बोलाउन निर्देशन दिएका हुन्।

न्यूयोर्क र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय निकायमा स्थायी प्रतिनिधिका रुपमा खटिएकाहरूलाई भने तत्काल फिर्ता नबोलाउन राष्ट्रपतिले निर्देशन दिनुभएको राष्ट्रपतिका प्रवक्ता अजुरी एनगेलेले आइतवार एक विज्ञप्ति निकालेर बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको आसन्न ७८ औँ महासभालाई दृष्टिगत गरी जेनेभा र न्युयोर्कमा रहेका स्थायी प्रतिनिधिलाई फिर्ता नबोलाइएको उनले स्पष्ट गरेका छन्।  

विदेशमा रहेका नाइजेरियाली वाणिज्य दूतावास कार्यालय र दूतावासको अवस्थाको अनुसन्धानपछि राष्ट्रपतिको यो आदेश आएको हो। नाइजेरियका कूटनीतिक नियोगहरूबाट विश्वस्तरीय दक्षता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले राष्ट्रपति टिनुबुले राजदूत फिर्ता बोलाउन निर्देशन दिनुभएको प्रवक्ता एनगेलेले स्पष्ट गरेका छन्।

प्रकाशित: १७ भाद्र २०८० १०:५५ आइतबार

नाइजेरिया राष्ट्रपति बोला अहमद टिनुबु राजदूतहरू