अन्तर्राष्ट्रिय

पश्चिम बंगाल सरकारद्वारा नेपाली च्यानल प्रतिबन्ध

सिलिगुरी– गोरखाल्यान्ड आन्दोलनको समाचार सम्प्रेषण गरेको आरोपमा पश्चिम बंगाल प्रहरीले सिक्किमका मुख्यमन्त्रीका छोराले सञ्चालन गरेका एबिएन नेटवर्कमा छापा मारेको थियो। भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटालाइट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भइसकेको छ। जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलिगुरीमा रहेको स्टुडियोमा सिल मारिदिएको थियो।

त्यसको भोलिपल्ट जलपाइगुरीका जिल्ला म्याजिस्टे«ट रचना भागतले एउटा आदेश जारी गर्दै च्यानलले दार्जिलिङ र जलपाइगुरी जिल्लाका समाचारसम्बन्धी कार्यक्रम अगस्ट ७ सम्म सञ्चालन गर्न नपाउने आदेश जारी गरेकी थिइन्। उक्त आदेश अगस्ट आठबाट अनिश्चितकालका लागि लम्ब्याइएको थियो।

एबिएन नेटवर्कका सञ्चालकहरुले च्यानलमाथिको प्रहरीको छापा र म्याजिस्टे«टको आदेश स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भएको बताएका छन्। सरकारी अधिकारीले च्यानलले समुदायबीचमा घृणाको भावना उब्जाएको र जुलाई २१ मा  गोरखाल्यान्ड समर्थकले आयोजना गरेको खुकुरी र्‍यालीलाई च्यानलले फेसबुक पेजमा सेयर गरेर सामाजिक द्वेष फैलाएको दुईवटा उजुरी दर्ता गरेपछि प्रहरीले च्यानलमाथि कारबाही गरेको बताइएको छ। परम्परागत नेपाली हतियार खुकुरीलाई पनि नेपाली भाषी भारतीय वा गोरखाले बेग्लै गोरखाल्यान्ड राज्य माग गर्दै आन्दोलन गरिरहेका गोरखाल्यान्ड समर्थकले एउटा सांकेतिक हतियारका रुपमा जुन महिनाको सुरुदेखि प्रयोग गरिरहेका छन्।

एबिएन नेटवर्कका समाचार प्रमुख महेन्द्र कुमार थापाले च्यानलले जुलाई २१ को ¥यालीलाई सम्प्रेषण गरेको भन्ने आरोप अस्विकार गरेका छन्। ‘पत्रकारका रुपमा हामीले केबल घटनाका बारेमा सम्पादन नगरिकन वा कुनै विश्लेषण नगरिकन एउटा समाचार मात्रै प्रसारण गरेका हौं,’ उनले भने । ‘हामीले एकदमै पूवाग्रही नभईकन र कुनैपनि पक्षमा नलागिकन गोरखाल्यान्ड आन्दोलनको समाचार सम्प्रेषण गरेका थियौं,’ उनले बताए।

‘तथ्य प्रसारण गर्दा हामीलाई प्रतिबन्ध गरिएको विषयले हामीलाई अचम्मित बनाएको छ,’ उनले थपे । ‘अरु समाचार च्यानलले पनि त्यस दिनको घटनाका बारेमा समाचार प्रसारण गरेका थिए । हामीलाई मात्रै किन एक्लाइयो,’ थापाले प्रश्न गरे । पश्चिम बंगालको सरकारी अधिकारीले च्यानलले फेसबुक पेजमा राखेको समाचारमा आएको प्रतिक्रियालाई पनि केन्द्रमा राखेर एबिएनलाई कारबाही गरेको बताइएको छ।

एबिएन च्यानल बन्द गराउन आदेश दिएकी भागतले जलपाइगुरी जिल्लाको दार्जिलिङसँग सिमा जोडिएको र कुनै अप्रिय घटना नहोस् भन्नका लागि उक्त कदम लिइएको प्रस्ट पार्न खोजेकी छिन्। ‘हामी अशान्ति रोक्न मात्रै चाहन्छौं,’उनले बताइन्। जुन महिनाको सुरुदेखि नै बेग्लै गोरखा राज्यको माग गर्दै दार्जिलिङमा आन्दोलन भइरहेको छ। आन्दोलनका कारण यसबीचमा १० जना मानिसको ज्यान गइसकेको छ।

प्रकाशित: ९ भाद्र २०७४ ०४:१४ शुक्रबार

पश्चिम बंगाल सरकारद्वारा नेपाली च्यानल प्रतिबन्ध