अन्तर्राष्ट्रिय

पानी प्रशोधन कारखानामा ग्याँस चुहिँदा  २४ गम्भीर

नयाँदिल्ली – भारतको उत्तराखण्डमा राज्यमा रहेको पानी प्रशोधन कारखानामा ग्याँस चुहिएर फैलिँदा २४ जना भन्दा बढी श्रमिक गम्भीर घाइते भएका छन्। 

उत्तराखण्डको राजधानी देहरादुनमा पर्ने जालसान्स्थानमा रहेको पानी प्रशोधन कारखानामा घटना भएको उत्तराखण्डका मुख्यमन्त्री त्रिभेन्द्र सिं राउतले जानकारी दिए।
 
“क्लोरिन ग्याँस चुहिएर फैलिएपछि विरामी भएका मध्ये दुई दर्जन भन्दा बढी व्यक्तिहरू अस्पतालमा भर्ना भएका छन्, तर अवस्था भने नियन्त्रणमै रहेको छ,” मुख्यमन्त्री राउतले भने।
 
राउतले घटनास्थलको अवस्थाका बारेमा व्यक्तिगत रुपमै नजिकबाट नियालीरहेका छन् भने घटनास्थलमा चिकित्सकहरूको टोली नै पठाएर पर्याप्त उपचार गर्न चासो व्यक्त गरेका छन्। 

“मैले मेरो एउटा आँखाले यस घटनालाई नियालिरहेको छु, चिकित्सकहरूको टोली पठाएको छु,” उनले ट्वीटमा लेखेकेका छन् । एउटा अनुसन्धान टोली पनि घटनास्थलमा पठाइएको छ। 
उनले अनुसन्धान टोलीलाई यस्ता घटना पटक पटक दोहोरिनुको कारण पत्ता लगाई फेरी नदोहोरिने उपायहरूबारे सुझाव दिन पनि आग्रह गरेका छन्।

मुख्य मन्त्री राउतले लेखेका छन्, “मैले ग्यासबाट प्रभावितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” 
भारतमा यसरी ग्याँस चुहिएर फैलिने दुर्घटना बेला बेलामा भइरहने गरेको छ । सन् १९४८ मा यस्तै एक घटनामा मध्य प्रदेशको राजधानी भूपालमा झण्डै चार हजार जनाको मृत्यु भएको थियो । 

प्रकाशित: २ भाद्र २०७४ १३:१५ शुक्रबार

पानी प्रशोधन कारखानामा ग्याँस चुहिँदा  २४ गम्भीर