अन्तर्राष्ट्रिय

चन्द्रमामा पुग्यो भारत

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ लाई सफल अवतरण गराएको छ। यो सफलतासँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो र चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ। चन्द्रमाको दक्षिणी ध्रुव हालसम्म कम अन्वेषण भएको क्षेत्र मानिन्छ। यो भागमा पानीको स्रोत फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासको सम्भावनाको ढोका खुल्ने वैज्ञानिकहरू बताउँछन्।

चन्द्रयान–३ मा एउटा अर्बिटर, ल्यान्डर र रोभर छन्। चन्द्रमा ल्यान्डरको सफल अवतरणपछि यसमा रहेका रोभरले बाहिर निस्केर चन्द्रमाको सतहमा घुमेर जानकारी संकलन गर्नेछ। गत जुलाई १४ मा भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। यो चन्द्रयानले ४० दिनमा आफ्नो यात्रा सम्पन्न गरेको छ। बुधबार साँझ चन्द्रमाका सतहमा चन्द्रयानको सफल अवतरण गरेपछि दक्षिण अफ्रिकामा सुरु भएको ब्रिक्स बिजनेस फोरममा सहभागी प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘ऐतिहासिक सफलता’ भएको बताएका छन्।

‘हाम्रा वैज्ञानिकको परिश्रम र प्रतिभाका कारण दुनियाँको कुनै देश पुग्न नसकेको चन्द्रमाका दक्षिणी धु्रवमा भारत पुगेको छ। अब चन्द्रमासँग जोडिएका मिथक बदलिनेछन्,’ प्रधानमन्त्री मोदीले भने।

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो र चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ।  

अवतरणको सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख सोमनाथले चन्द्रयान–३ ले भारतका पुराना चन्द्र अभियानहरूको उद्देश्यलाई सफल पार्न र केही ‘विशेष उल्लेखनीय’ वैज्ञानिक खोजलाई सघाउन काम गर्ने बताए। गत साता मात्र चन्द्रमाको यही सतहमा अवतरण गर्न लागेको रुसको लुना–२५ दुर्घटनाग्रस्त भएको थियो। अहिलेसम्म अमेरिकी, रुस र चीनले चन्द्रमामा अन्तरिक्षयान अवतरण गराएका छन्। यसअघि सन् २०१९ मा पनि भारतले चन्द्रयान–२ मिसनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो तर सो यान दुर्घटनाग्रस्त भएपछि अभियान विफल भएको थियो।

चन्द्रमामा दौड किन?

सन् २००८ र २००९ मा गरिएको खोजअनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा पानी हुने सम्भावना रहेको बताइएको थियो। चन्द्रमामा बसाइँ सर्ने सम्भावना बताउने वैज्ञानिकहरूका लागि सबैभन्दा ठुलो समस्या नै पानी थियो। पानीबिना त्यहाँ जीवन कसरी फस्टाउँछ भन्ने प्रश्नको उत्तर खोज्न नै चन्द्रमामा विभिन्न यान पठाउने क्रम बढेको हो।  चन्द्रमामा कुनै पनि यानलाई सकुशल अवतरण गराउन समस्या हुने गर्छ। खासगरी चन्द्रमामा पर्याप्त हावा नहुने हुनाले तीव्र गतिले यान झर्छ र दुर्घटनाग्रस्त हुन्छ। दुर्घटनाबाट बचाउन प्रायः यसलाई पारासुटबाट झार्ने गरिन्छ। 

भारतको चन्द्रयानको दुर्लभ सफल अवतरणले चन्द्रमाको दक्षिणी भेगमा पानी छ कि छैन भन्नेमा अन्वेषण जारी राख्नेछ। चन्द्रमामा पानी फेला पारिए, त्यहाँबाट अन्य ग्रहमा रकेट प्रक्षेपण गर्न सहज हुने वैज्ञानिकहरूको राय छ। मंगललगायत अन्य ग्रहमा रकेट प्रक्षेपण गर्न पृथ्वीबाटै योजना सञ्चालन गर्नुपरेको छ भने भविष्यमा चन्द्रमाबाट रकेट प्रक्षेपण गर्नु सस्तो पर्न जान्छ।

त्यसो त चन्द्रमामा पानी फेला परेमा अर्को किचलो उठ्ने सम्भावना पनि उत्तिकै रहेको नासा प्रशासक बिल नेल्सन बताउँछन्। त्यहाँको पानीमाथि कसको अधिकार हुने भन्ने झगडाले पछि कलह निम्त्याउने उनको धारणा छ। चीनले अन्तरिक्ष खोज सबै मानव जातिको हुनुपर्ने बताइरहेको छ।  

भारतको चन्द्रयान–३ को दक्षिणी ध्रुवमा सकुशल यात्रा हुँदा अब प्रज्ञान नामक रोभरले चन्द्र सतहमा थप अनुसन्धान गर्ने बताइएको छ। चन्द्रयान–३ लाई सफलतापूर्वक अवतरण गराउन यसअघि भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले १५ वर्षे मिहिनेत गरेको छ। सन् २००८ अक्टोबर २२ मा चन्द्रयान–१ प्रक्षेपण गरिएको थियो। त्यो बेला चन्द्रमाको सतहभन्दा १०० किलोमिटर माथिबाट चारैतिर परिक्रमा गरेको थियो। सफलतापूर्वक अनुसन्धान भएपछि सन् २००९ मा २०० किलोमिटर टाढाबाट चन्द्रमाको अनुसन्धान गरिएको थियो। सन् २००९ को २९ अगस्तमा इसरोसँग यसको सम्पर्क विच्छेद भएको थियो। त्यो बेला इसरोका अध्यक्ष जी. माधवन नायरले चन्द्रयान १ ले आफ्नो उद्देश्यको ९५ प्रतिशत कार्य सम्पन्न गरेको बताएका थिए।

यसपछि सन् २०१९ जुलाई २२ मा चन्द्रयान–२ लाई सफलतापूर्वक प्रक्षेपित गरिएको थियो। त्यसमा एउटा अर्बिटर, ल्यान्डर र रोभरसमेत थियो। तर चन्द्रमामा अवतरण गर्दा यो दुर्घटनाग्रस्त हुन पुग्यो। अन्तिम दुई किलोमिटरमा भएको गडबडीका कारण चन्द्रयान–२ सफ्ट ल्यान्डिङ हुन पाएन। तर ल्यान्डर र रोभर सफलतापूर्वक अवतरण भएका कारण तिनले बहुमूल्य वैज्ञानिक तथ्यांकहरू पठाएको थियो। अहिले चन्द्रयान–२ को अर्बिटर र चन्द्रयान–३ को लुनर मोड्युलका बीच सञ्चार कायम भइसकेको छ। चन्द्रयान–३ को सफल अवतरणसँगै यसको सस्तो प्रविधिको पनि संसारभर चर्चा भइरहेको छ। यो अभियान सफल बनाउन ६.१ अर्ब भारु खर्च भएको छ। यो भनेको रुसको लुना–२५ को २०० मिलियन डलरको आधा मात्र हो। अमेरिकी मिसन रुसको भन्दा अझ महँगो मानिन्छ। खासमा भारतले कसरी यस्तो सस्तो प्रविधि बनाएर सफल प्रक्षेपण गर्छ भन्ने चासो सर्वत्र छ। बिबिसीका अनुसार यसका पछाडि भारतले प्रयोग गर्ने प्रयोगहीन वस्तुहरूको सदुपयोग नै हो। साथै अनावश्यक कुनै वस्तु प्रयोग नगर्ने नीति पनि हो। अर्को कारणमा भारतको लन्चप्याड पनि कारक तत्व हो।

के भन्छन् नेपाली वैज्ञानिक?

छिमेकी देश चीन र भारतले चन्द्रमामा रकेट अवतरण गराउन सफल भए पनि नेपालले यस्तो सफलता हासिल गर्न धेरै वर्ष कुर्नुपर्ने नेपाली वैज्ञानिक बताउँछन्। अन्तरिक्ष अनुसन्धानमा ठुलो साधनस्रोत र क्षमता आवश्यकता पर्ने भएकाले नेपालले यस क्षेत्रमा अपेक्षित प्रगति नगरेको बिपी कोइराला मेमोरियल प्लानेटेरिएक अब्जर्भेटरी तथा विज्ञान संग्रहालयका निमित्त प्रमुख डा. सनतकुमार शर्मा बताउँछन्।

‘सुत्केरी हुँदा र सिटामोलको अभावमा नेपालमा अकाल मृत्युवरण गर्नुपर्ने वर्तमान अवस्थामा चन्द्रमामा रकेट पठाउने कल्पना कसरी गर्नु?’ खगोल अन्तरिक्ष विज्ञानका अध्येता शर्मा भन्छन्। सीमित साधनस्रोतले नगरकोटमा रहेको अब्जर्भेटरीमार्फत र बोक्न मिल्ने टेलिस्कोपको सहायताले विद्यार्थीहरूलाई अन्तरिक्ष विज्ञानका विषयमा सिकाउने काम भइरहेको उनले बताए।

‘जे जसो भए पनि भारतको सफलताले हामीलाई अन्तरिक्ष विज्ञानको क्षेत्रमा योजना बनाएर अगाडि बढ्न प्रेरणा भने दिएको छ,’ उनी भन्छन्, ‘अन्तरिक्ष अनुसन्धानमा हामी भारत र चीनभन्दा २५–३० वर्ष पछाडि छौं तर पर्याप्त साधन स्रोत र क्षमताविकास गर्न सके हामी अगाडि बढ्न सक्छौं।’

प्रधानमन्त्री दाहाललगायतले दिए बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले चन्द्रयान–३ सफल रूपमा चन्द्र सतहमा अवतरण गरेकोमा बधाई दिएका छन्। उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत समकक्षी नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई सफलताप्रति बधाई दिएका हुन्। ‘मित्रराष्ट्र भारतले चन्द्रयान–३ नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु। मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरीक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु।’

यसैगरी पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चन्द्रयान–३ चन्द्रमामा अवतरण गरेकोमा बधाई दिएका छन्। ‘चन्द्रयान ३ सफलतापूर्वक चन्द्रमामा अवतरण गरेकोमा प्रधानमन्त्री तथा भारतीय जनतालाई हार्दिक बधाई’, उनले ट्विटरमा लेखेका छन्, ‘यो उल्लेखनीय प्रगति हो। हामी इसरोका वैज्ञानिकहरूको उत्कृष्ट कामको प्रशंसा गर्छौं।’ त्यस्तै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमार्फत बधाई दिँदै लेखेका छन्, ‘आज भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छु’ ओलीले फेसबुकमा लेखेका छन्, ‘यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतवासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महŒवपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं।’ परराष्ट्रमन्त्री एनपी साउदलगायत विभिन्न व्यक्तिहरूले पनि सामाजिक सञ्जालहरूमार्फत भारतको उक्त सफलताप्रति बधाई ज्ञापन गरिरहेका छन्।

प्रकाशित: ७ भाद्र २०८० ०१:१६ बिहीबार

चन्द्रमामा पुग्यो भारत चन्द्रमाको दक्षिणी ध्रुव