अन्तर्राष्ट्रिय

लेबनान र सिरियाली सीमामा सैनिक कारबाही

बेरुत– गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ। 

उक्त क्षेत्रमा आतङ्ककारी क्रियाकलापमा बृद्धि भइरहेको र सिरियामा आतङ्कारीहरुको घुसपैठ रहेको भन्दै कारबाहीलाई केही दिनसम्म नै सशक्त बनाइने यी दुई संयुक्त सैन्यका कमाण्डरले जनाएका छन्। 

उक्त क्षेत्रमा सुरु भएको यस कारबाहीबाट दुई देशको सीमामा सयौँ आतङ्ककारीले जारी राखेको हिंसात्मक हमलामा कमी आउने अनुमान गरिएको छ। 

त्यस इलाकामा रहेका लडाकूलाई यसअघि नै सो क्षेत्र छोड्नको लागि सम्झौता गरिएको थियो । तर उनीहरुले उक्त क्षेत्र नछोडेपछि हिंसाको क्रम बढेको बताइएको छ। 

लेबनानका प्रधानमन्त्री सआद हारिले सिरियासँगको सीमानामा रहेको इलाकामा सैनिक कारबाही सुरु गर्न हालैमात्र आदेश दिएको बताइएको थियो । 

त्यसैगरी हेज्बोल्लाहका नेता शैख हसन नसराल्लाहले गत हप्ता लेबनान र सिरियाली सेनाले सीमा इलाकाबाट आतङ्ककारीलाई हटाउनको लागि संयुक्त कारबाही गर्ने बताएका थिए । 

सिरियाली सरकारको नियन्त्रणमा रहेको सैंनिकको सञ्चारमाध्यमले सो कारबाही शुक्रबार बिहानबाट सुरु भएको बताएको थियो। 

प्रधानमन्त्रीको सो आदेशपछि लेबनानी सहर एर्साल र सिरियाली सहर फ्लेएटामाको बाहिरी इलाकामा कारबाही सुरु गरेको सेनाले जनाएको छ । 

प्रकाशित: १९ श्रावण २०७४ ०९:४० बिहीबार

लेबनान सिरियाली सीमामा सैनिक कारबाही