अन्तर्राष्ट्रिय

खाडी संकट समाधानका लागि कतारको अपिल

दोहा–  कतारका विदेशमन्त्री मोहमद् बिन अब्दुलरहमानले  खाडी  संकट समाधानका लागि संयुक्त राष्ट्रसंघसँग सहयोगको अपिल गरेको छ । 

साउदी अरबिया नेतृत्वका खाडी मुलुहहरूले कतारमाथि नाकाबन्दी लगाएको करिब २ महिना हुँदा पनि उनीहरू कतारसँग लचिलो नभएकाले संयुक्त  राष्ट्रसंघ मात्र समाधानको विकल्प भएको भन्दै कतारले सहयोगका लागि अपिल गरेको हो। 

नाकाबन्दीका कारण कतारले ठूलै आर्थिक क्षति व्यहोर्नु परेको छ ।  यसअघि नाकाबन्दीका कारण व्यहोर्नु परेको आर्थिक नोक्सानीको क्षतिपूर्तिको माग कतारले खाडी मुलुकहरूसँग गरेको थियो । 

क्षतिपूर्तिका मागका लागि एक छानविन समिति गठन समेत कतारले गरेको थियो।  

खाडी मुलुकहरूले कतारमाथिको प्रतिबन्ध हटाउनका लागि सञ्चार माध्यम अलजरजिरा हटाउनु पर्ने, इरानसँगको कुटनीतिक सम्बन्धमा कमी गर्नुपर्ने आतंकवादलाई समर्थन गर्न नहुने जस्ता माग राखेका थिए भने कतारले उनीहरूको माग पुरा गर्नमा कतारले असहमति जनाएपछि खाडी मुलुकहरूले कतार माथि थप प्रतिबन्ध लगाइने चेतावनी दिएका थिए। 

कुवेत, फ्रान्स, अमेरिका लगायतका देशहरूले सम्बन्ध पुनः निर्माणमा  मध्यस्थकर्ताको भूमिका निर्वाह गरेपनि उनीहरू सफल हुन सकेका छैनन् । कतारका विदेशमन्त्री अब्दुलरहमानले ती मुलुक सामु आफूहरूले आत्मसमर्पण नगर्ने बताउँदै नाकाबन्दीका कारण भएको आर्थिक नोक्सानीको क्षतिपूर्तिको माग गर्ने बताएका थिए। 

कतारले इस्लामिक समूहलाई समर्थन गरेको र आतंकवाद फैलाएको आरोप लगाई साउदी अरेबिया नेतृत्वमा ६ मुलुकहरूले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। 

कतारले भने उक्त आरोपलाई खण्डन गर्दै कतार एक समृद्ध सफल र प्रगतीवादी मुलुक भएका कारण ती राष्ट्रहरुले आफूलाई एक्लाउन खोजेको धारणा राख्दै आएको छ। 

प्रकाशित: १३ श्रावण २०७४ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App