अन्तर्राष्ट्रिय

रुसको नियन्त्रणमा रहेको डोनेट्स्क सहरमा युक्रेनको आक्रमण

रुसी सेनाको नियन्त्रणमा रहेको पूर्वी युक्रेनी सहर डोनेट्स्कको माकिभकामा युक्रेनले भीषण आक्रमण गरेको छ। युक्रेनी कारबाहीमा एक जनाको मृत्यु भएको तथा अन्य ४१ जना घाइते भएका छन्।

रुसी अधिकारीहरूका अनुसार युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित ४१ जना घाइते भएका छन्। युक्रेनको सेनाले माकिभकामा रहेको रुसी सेनाको एउटा संरचनालाई पनि ध्वस्त पारेको छ। युक्रेनी सेनाले आवासीय क्षेत्र र माकिभकाको अस्पताल परिसरमा पनि भीषण आक्रमण गरेको छ।

सन् २०१४ देखि नै डोनेट्स्क क्षेत्र आंशिकरूपमा क्रेमलिन समर्थित पृथकतावादीको कब्जा गरेको छ। यसलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिनु रुसी फौजको मुख्य सैन्य उद्देश्य हो। केही दिनदेखि यहाँको औद्योगिक क्षेत्रलाई  पनि युक्रेनी सेनाले आक्रमणको केन्द्रबिन्दु बनाएको छ।

युक्रेनी सेनाले गरेको आक्रमणमा नौ वटा स्वास्थ्य सेवा केन्द्रमा क्षति पुगेको डोनेट्स्कस्थित रुसी अधिकारी डेनिस पुशिलिनले बताएका छन्। चालीस वटा आवसीय भवन, विद्यालय र वारुणयन्त्र कार्यालयमा पनि क्षति भएको छ। यद्यपि उनले थप विवरण दिएका छैनन्।  

प्रकाशित: २० असार २०८० १४:०४ बुधबार

युक्रेनी सहर डोनेट्स्क