अन्तर्राष्ट्रिय

भारतमा पर्खालले च्यापिएर २६ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पश्चिमी क्षेत्रमा पर्ने राजस्थान राज्यमा बिहीबार एक बैबाहिक कार्यक्रम भइरहेको ठाउँमा पर्खाल भत्किएर च्यापिएका मध्ये कम्तीमा २६ जनाको मृत्यु भएको छ । 

राजस्थानको राजधानी जयपुरदेखि १८६ किलोमिटर पूर्वतर्फ पर्ने भारतपुर जिल्लामा बुधबार अवेर राति विवाह भइरहेको बेला पर्खाल भत्किएको प्रहरी अधिकारीले बिहीबार जनाएका छन् । 

“गएराति अवेर बैबाहिक कार्यक्रम भइरहेको हलमा पर्खाल भत्किएको थियो, त्यसले च्यापेर कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने अरु २७ जना घाइते भएका छन्,” एक वरिष्ठ प्रहरी अधिकृतले सिन्ह्वालाई टेलिफोनमा भने । 

उनले थपे, “घाइते भएका सबैलाई अस्पतालमा भर्ना गरिएको छ, मृतकको शव भने उनीहरुका आफन्तलाई बुझाइएको छ।” 

विवाह समारोहमा सहभागीले खाना खाइरहेका बेला २८ मिटर लामो र चार मिटर अग्लो पर्खाल भत्किएको प्रत्यक्षदर्शीले बताएका छन् । 

विवाहमा आएकाका लागि राखिएको खाना भत्किएको पर्खालले पुरिएको प्रहरीले जनाएको छ । 

राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुलाई उपचारमा सक्दो सहयोग गर्न सम्वन्धित निकायलाई निर्देशनसमेत दिएकी छिन् । 

स्थानीय सरकारले समेत उनीहरुका लागि सहयोग गर्ने घोषणा गरेको छ । 

यस्ता भौतिक संरचना भत्किदा पुरिएर मृत्यु हुने घटना भारतमा धेरै नै हुने गरेको छ । 

प्रकाशित: २८ वैशाख २०७४ १०:०९ बिहीबार

भारतमा पर्खालले च्यापिएर २६ जनाको मृत्यु