अन्तर्राष्ट्रिय

सोमालियाका पुनःनिर्माण मन्त्रीको हत्या

मोगादिसु – अज्ञात व्यक्तिले गोली प्राहार गर्दा सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका हत्या भएको छ । 

सोमालियाको राष्ट्रपति कार्यालय नजिकै बन्दुकधारीले उनको हत्या गरेको सूचना तथा सञ्चार मन्त्री अब्दुराहमन ओमर ओस्मनले पुष्टी गरेका छन् । 

‘मैले यो दुःखद् जानकारी गराउनु परेको छ की सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका मोगादिसुमा अज्ञात व्यक्तिले गोली प्राहार गरी हत्या गरेको छ, सुरक्षा निकायहरुले घटनाको अनुसन्धान सुरु गरिसकेका छन्, उहाँको आत्माले शान्ति पाओस्,’ ओस्मनले भने । 

मन्त्री सिराजीको हत्याको कारणका बारेमा अनुसन्धान गर्न सरकारले छुट्टै टोली पनि खटाएको उनले जानकारी दिए। 

सोमालियाका एक जना बरिष्ठ प्रहरी अधिकारीले घटनाका बारेमा अनुसन्धान गर्न चार जना सुरक्षाकर्मीहरुलाई निलम्बन गरि नियन्त्रणमा लिइएको बताए । 

सिराजी सोमालियाको सङ्घीय सदनका सबैभन्दा कान्छो सदस्य थिए भने गत मार्चमा मन्त्री परिषद्को सदस्य भई सार्वजनिक कार्य र पुनर्निर्माण मन्त्री बनेका थिए ।

प्रकाशित: २१ वैशाख २०७४ ०९:२९ बिहीबार

सोमालियाका पुनःनिर्माण मन्त्रीको हत्या