अन्तर्राष्ट्रिय

पाकिस्तानमा चार आतङ्ककारीलाई फाँसीको सजाय

इस्लामाबाद – पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ । आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ । 

सैनिकद्वारा प्रकाशित विज्ञप्तिका अनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबल माथि आक्रमणजस्ता आतङ्ककारी आक्रमणमा सलग्नता रहँदै आएको आरोपमा यी चार आतङ्ककारीलाई फाँसी दिइएको छ । 

फाँसीका सजाय पाएका ती आतङ्ककारी प्रतिबन्धित समूह तेहरिक ए तालिवन पाकिस्तानसँग आवद्ध रहेको जानकारी दिइएको छ । 

सन् २०१४ को डिसेम्बरमा पेसावरको एक सैनिक विद्यालयमा भएको भीषण आक्रमणपछि पाकिस्तानमा सैनिक अदालतको स्थापना भएको थियो । सैनिक विद्यालयमा भएको यस आक्रमणमा परी १३५ जना बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो । 

यस भयानक आक्रमणपछि स्थापना भएको सैनिक अदालत आतङ्ककारीको पहिचान गरी फाँसीको सजाय दिने गरेको छ । गत मार्चमा पाकिस्तानी संसद्ले थप दुई वर्षको लागि सो सैनिक अदातललाई अनुमोदन गरेको थियो । गत जनवरीमा नै यस अदालतको दुई वर्षको अवधि समाप्त भएको थियो । 

प्रकाशित: २० वैशाख २०७४ ११:१२ बुधबार

पाकिस्तानमा आतङ्ककारीलाई फाँसीको सजाय