अन्तर्राष्ट्रिय

पहिरोमा परी कोलम्बियामा २०६ जनाको मृत्यु

कोलम्बिया – दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा २०६ जनाको मृत्युभएको छ भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् । 

पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपिडित पनि पहिरोमा परेका छन् । 

दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजाराैँ घर, पुल, सवारी साधन तथा रुखहरु ढलाएको तथा बगाएको छ । 

पछिल्लो विवरणअनुसार कम्तीमा २०६ जनाको मृत्यु २०२ जना घाइते र २२० जना बेपत्ता भएको कोलम्बियन रेडक्रसका प्रमुखले एएफपीलाई आइतबार जानकारी दिए । 

कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सान्तोषले उद्धारकर्तालाई भेटेर अझ सक्रियताका साथ उद्धार तथा खोजीकार्यमा सक्रिय हुन निर्देशन दिएका छन् । 

उनले घटना भएको क्षेत्रमा संकटकालको घोषणा गर्दै मृतकप्रति श्रद्धान्जलि र पीडितप्रति सहानुभूती व्यक्त गरेका छन् । 

स्थानीय पुटुमायोका गभर्नर सोरेल अरोकाले “अकल्पनीय दुःखदायी घटना” भएको बताएका छन्। 

उनले स्थानीय एक रेडियोसँग भने, “सयौँ व्यक्तिलाई हामीले अहिले फेला पार्न सकिरहेका छैनौँ, सँगसँगै भएका सबै छुट्टिएका छन् ।” 

राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान र्माक्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताए । विशाल हिम पहिरोका कारण मोकोआ नदीमा ठूलो बाढी आएको उनको भनाइ छ । 

राष्ट्रपति सान्तोषले त्यो नदिमा केही पहिनादेखि बेला बेलामा यस्तो बाढी आउने गरेको र नदी वरीपरी बसोबास गर्नेलाई सतर्क रहन भनिएपनि गएराति अनपेक्षित बाढी आएको बताए । 

उनले यस दुःख घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । “हामी सबै बाढीपहिरो पीडितको साथमा छौं, हामी तपाइहरुको लागि प्राथना गरिरहेका छौं” उनले भने । 

उक्त नगरमा बिजुली, पानी, फोन लगायतका सेवा अवरुद्ध भएका छन् भने झन्डै ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न नसकिने अवस्था रहेको र पुलहरु पहिरोले बगाएको बताइएको छ । 

निरन्तरको खराब मौसम र भत्किएका संरचनाका कारण खोज तथा उद्धारकार्यमा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् । 

कोलम्बियामा बेलाबेलामा यस्ता बाढीपहिरोका कारण सयौको मृत्यु हुने गरेको छ । सन् २०११ यता यस पटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीले जनाएका छन् । 

गत नोभेम्बरमा दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने इल टम्बोमा आएको पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो । त्यसैगरी एक महिना अगाडि आएको अर्को पहिरोका कारण १० जनाको ज्यान गएको थियो । 

जलबायु परिवर्तनका कारण यस्ता अनपेक्षित र अकल्पनीय प्राकृतिक प्रकोपका घटना हुने गरेको संयुक्त राष्ट्रसङ्घीय निकायका अधिकारीले बताएका छन् । 

प्रकाशित: २० चैत्र २०७३ ०८:०४ आइतबार

पहिरोमा परी कोलम्बियामा २०६ जनाको मृत्यु