अन्तर्राष्ट्रिय

लालाबालालाई असर पार्ने बोली

बालबालिकालाई पालनपोषण गर्नु सजिलो छैन। कति पटक त बालबालिकालाई अनुशासन सिकाउँदै गर्दा र तिनलाई सही बाटोमा ल्याउने क्रममा कठोर शब्दहरु प्रयोग गर्ने गर्छौं। यस्तो बेलामा तपाईंले केही कुरामा ध्यान राख्न निकै जरुरी हुन्छ।

१. तेरो बेलामा म निकै जिम्मेवार थिएँ

धेरैजसो बाउआमाले आफ्ना केटाकेटीसँग बाल्यकालको तुलना गर्ने गर्छन्। यतिबेलाका बालबालिकाको उमेरमा त्यो बेलाको आफू के के गर्थें भनेर सुनाउनु राम्रो कुरा होइन। बालबालिकालाई उनीहरु ‘पर्फेक्ट’ हुने अपेक्षा नगर्नुहोस्। यस्तो सोच पाल्नु उचित होइन। यस्तो अपेक्षाका कारण उनीहरुमा रिस र चिडचिडाहट बढ्न थाल्छ। यस्ता कुराले तपाईंका बालबालिकामा आत्मविश्वास घटाउने काम गर्छन्। उनीहरुलाई लाग्न थाल्छ, म बाउआमा जत्तिको रहेनछु। यसले उनीहरुमा लघुताभाष बढाउन थाल्छ।

२. तँ सधैँ गलत निर्णय लिन्छस्

आफ्ना केटाकेटी अपरिपक्व हुनुको सजाय नदिनुस्। हरेक मानिसले गल्ती गर्छन् र तिनै गल्तीका कारण तिनले सिक्ने गर्छन्। तपाईंका केटाकेटीले पढाइमा आफूलाई रुचि नभएको विषय छनोट गरेको हुनसक्छ, जसका कारण ऊ पढाइमा सुस्त वा चाहेजस्तो परिणाम निकाल्न नसकेको हुनसक्छ। तपाईंका सन्तान यस्तो कम्पनीमा काम गरिरहेका हुनसक्छन्, जुन तपाईंलाई फिटिक्क मन नपरेको होस्। उनीहरुको छनोट र निर्णयलाई दोष नदिनुस्। अभिभावक हुनुको अर्थ आफ्नो निर्णय लाद्ने होइन, तिनलाई दिशानिर्देश गर्ने हो।

३. तँ फलानो भाइ/बहिनीजस्तो/जस्ती छैनस्

हामी प्रायः आफ्ना सन्तानलाई अरुका सन्तान वा आफ्नै सन्तानहरुमध्ये पनि भाइबहिनी, दाजुभाइ, दिदीदाइ आदिसँग तुलना गर्ने गर्छौं र भन्छौँ– यो फलानोजस्तो भएन/भइन। उसले जस्तो गर्दैन, गरिन। यसरी आफ्ना सन्तानलाई अरुका सन्तान वा आफ्नै सन्तानहरुबीच तुलना गरेर झगडाको बिउ नरोप्नुस्। यस्तो भएको खण्डमा आफ्नै दाजुभाइ, दिदीबहिनीलाई उनीहरुले प्रतिस्पर्धी देख्छन्, सम्बन्ध बिग्रन थाल्छ र अनुहारसम्म हेर्न नरुचाउन सक्छन्। कसैका प्रति पनि नकारात्मक भावना नआओस् भन्नेतर्फ तपाईं सचेत हुनुपर्छ। त्यसैले तुलना नगर्नुस्।

४. मलाई एक्लै छाडिदे

काम गर्दागर्दै हामी थाक्छौँ र केही समयका लागि एक्लै बस्न चाहन्छौँ। यस्तो अवस्थामा तपाईंको मानसिक वा शारीरिक अशक्तता वा थकान केटाकेटीले बु‰न सक्तैनन्। उनीहरुको अबुझपनामाथि तपाईंले ‘मलाई एक्लै छाडिदे भनेको सुनिनस्’ भनेर बेस्कन चिच्याउँदा नकारात्मक असर पार्ने गर्छ। यस किसिमको व्यवहारले उनीहरुलाई लाग्न थाल्छ, ‘यस घरमा मेरो कसैलाई आवश्यक छैन। मलाई कसैले मन पराउँदैन।’

५. तँलाई लाज लाग्नुपर्ने हो

यस किसिमको शब्द निकै कठोर मानिन्छ र कसैलाई पनि यस्तो भाषा प्रयोग गर्नबाट जोगिनुहोस्। कुनै कुनै बालबालिका यति धेरै बदमासी गर्छन् कि भनेको सुन्दै सुन्दैनन्। यस्तो अवस्थामा अभिभावकले निकै कडा शब्द प्रयोग गरेर सन्तानलाई तह लगाउन खोज्छन् तर त्यसो गर्नु बुद्धिमानी होइन। केटाकेटीलाई राम्रो र नराम्रोबीचको फरक बुझाउने अन्य पनि तरिका छन् भन्ने बु‰नुस् र त्यसको खोजी गर्नुस्।

६. तँ ठ्याक्कै बाउ/आमाजस्तै छस्

सबै वैवाहिक जीवन सुखद् हुन्छ भन्ने छैन। कतिपय अवस्थामा पति–पत्नीका बीच कटुतापूर्ण सम्बन्ध हुन्छ र त्यसै कारण उनीहरुले पारपाचुके लिएको हुन सक्छ वा एकै छानोमा बसे पनि एकअर्काको अनुहारसमेत हेर्न चाहँदैनन्। यस्तो अवस्थामा अभिभावकहरुबीचको कटुतापूर्ण सम्बन्ध केटाकेटीले विचार गरिरहेका हुन्छन्। यस्तो अवस्थामा आफ्नो पति वा पत्नीको रिस आफ्ना सन्तानमाथि नओकल्नुहोस्। खासगरी यस्तो अवस्थामा ‘तँ त ठ्याक्कै बा वा आमातिर गएको/गएकी छस्’ भन्ने शब्द प्रयोग गर्ने गरिन्छ। यस्तो नगर्नुहोस्। यस्ता बालबालिकाले पछि तपाईंलाई पनि सम्मान गर्ने छैनन्।

७. सधैँ मलाई दुःख दिन्छस्/दिन्छेस्

कैयौँ पटक केटाकेटी वा सन्तानले बाउआमाको खुसीविरुद्धको काम गर्न पुग्छन्। जसका कारण अभिभावकको मन कटक्क दुख्छ। यस्तो काम सन्तानले जानाजान नगरेका पनि हुन सक्छन्। कतिपय अवस्थामा जानाजान पनि गरेका हुन सक्छन्। यस्तो अवस्थामा केटाकेटीलाई ‘तँ सधैँ मलाई दुःख दिन्छस्/दिन्छेस्’ भन्दा उनीहरुलाई अपराधबोध महसुस हुने गर्छ। उनीहरुलाई गर्न मन लागेको कुरा वा काम गर्न दिनुस्। उनीहरुलाई आफ्नो निर्णय आफैँ गर्न दिनुस्। यसो गर्दा उनीहरुलाई खुसी लाग्छ, उनीहरुको आत्मविश्वास बढ्छ।

८. तँ जन्मेको भन्दा मरेकै भए बेस हुन्थ्यो

रिसको झोंकमा कतिपय अवस्थामा हामी केटाकेटीहरुलाई यस्ता शब्द प्रयोग गर्ने गर्छौं, जसका कारण पछि हामीले गम्भीर परिणामसमेत भोग्नुपर्ने हुन सक्छ। जस्तोसुकै नराम्रो अवस्था किन नहोस्, आफ्नो बोलीलाई संयमका साथ प्रयोग गर्नु नै उचित हुन्छ। नत्र जीवनभर तपाईंले अपसोच मान्नुपर्ने समेत हुन सक्छ।

स्रोतः एमएसएनबिसी

प्रकाशित: १८ चैत्र २०७३ ०४:०२ शुक्रबार

लालाबालालाई असर पार्ने बोली