अन्तर्राष्ट्रिय

प्रयोगशाला विज्ञान तथा प्रविधि मेलामा १७ देशले भाग लिने

भियतनाम – भियतनामको राजधानी हानोइमा आगामी बुधबारदेखि शुरु हुन गै रहेको वैज्ञानिक प्रयोगशाला प्रविधि मेलामा विश्वका बिभिन्न मुलुक तथा क्षेत्र समेत सत्र स्थानका एकसयबीस वटा वैज्ञानिक संगठन तथा कम्पनीहरु सहभागी हुने भएका छन् । 
यसै महिनाको २९ देखि ३१ तारिख गरी तीन दिन सम्म चल्ने उक्त मेलामा बेलायत, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, सिङ्गापुर र संयुक्त राज्य अमेरिका जस्ता विश्वका प्रमुख औद्योगिक राष्ट्रका प्रतिनिधि संस्थाहरुले भाग लिने छन् । 
आधुनिक प्रविधियुक्त वैज्ञानिक प्रयोगशाला, प्रविधीय विश्लेषण, मानवीय व्याधिजन्य समस्याको सम्बन्धमा प्रयोग हुने जैविक र इन्जियरिङ्ग प्रविधि, रोग निदानका लागि प्रयोग हुने प्रविधि इत्यादि तेश्रो पुस्ताको वैज्ञानिक अनुसन्धान प्रयोजनका लागि उपयोगी प्रबिधि सम्बन्धि यस अन्तर्राष्ट्रिय पाँचौ मेलालाई ‘फिफ्थ इन्टरनेशनल ट्रेड फेयर फर ल्याबोरेटरी टेक्नोलोजी, आनालाइसिस्, बायो–टेक्नोलोजी एण्ड डाय्ग्नोस्टिक अर आनालाइटिका भियट्नाम – २०१७’ भन्ने नामाकरण गरिएको छ । 
यस वर्षको विज्ञान तथा प्रबिधि मेलामा सहभागी हुने संगठन वा कम्पनीहरुको सङ्ख्या पोहोरको भन्दा २५ प्रतिशतले बढ्ने जनाइएको छ । 
मेलामा सहभागी हुने प्रदर्शनकारीहरुले आ–आफ्ना स्टल (पेभिलियन) बाट हालसम्म पत्ता लागेका अत्याधुनिक प्रविधि, उपकरण तथा औजार, वैज्ञानिक समाधान र सेवाका रुपरेखा, विश्लेषणीय प्रविधि, जीवन–विज्ञान तथा जैविक प्रविधि जस्ता विषयमाथि जानकारी मूलक सूचना प्रदान गर्नेछन् । रासस /सिन्ह्वा 
 

प्रकाशित: १४ चैत्र २०७३ ०८:२३ सोमबार

प्रयोगशाला विज्ञान तथा प्रविधि मेलामा १७ देशले भाग लिने