अन्तर्राष्ट्रिय

साउदी राजाको अनौठो सौख

इन्डोनेसिया- साउदी अरबका नरेश सलमान बिन अब्दुल्लाजीज बुधबार इन्डोनेसिया भ्रमणमा निस्केका छन्। भ्रमणका क्रममा उनको अनौठो सौखका कारण उनी अर्न्तराष्ट्रिय संचारमाध्यमको आकर्षणको केन्द्रविन्दु बनेका छन्।

साउदी अरबबाट इन्डोनेसिया भ्रमणमा निस्केका अब्दुल्लाजीजले ५०० टनभन्दा बढी सामान र एक हजार भ्रमण टोलीका सदस्य लगेका छन्। यतिमात्र होइन विशेष विमानबाट इन्डोनेसिया पुगेका उनलाई विमानबाट ओर्लदा सुनको भर्‍याङ प्रयोग गरिएको थियो।

सुनको भर्‍याङबाट ओर्लिदैं गरेका साउदी नरेशको तस्वीर अर्न्तराष्ट्रिय संचारमाध्यममा छाएको छ। उनको भ्रमणमा १० मन्त्री र २५ राजकुमार पनि सामेल रहेको बताइएको छ।

एक महिना लामो एसिया भ्रमणका क्रममा इन्डोनेसियामा साउदी नरेशले ९ दिन बिताउने बताइएको छ। राजधानी जाकार्ताको एक मस्जिदमा उनका लागि खास कोठाको व्यवस्था गरिएको छ। मस्जिदभित्र उनका लागि भीआइपी शौचालयको व्यवस्थासमेत गरिएको अधिकारीले जनाएका छन्।

८१ वर्षीय नरेशको विदेश भ्रमण प्रायः अर्न्तराष्ट्रिय संचारमाध्यमका लागि खुराक बन्ने गरेको छ। उनी सन् २०१५ मा वासिङ्टन पुग्दा पनि अर्न्तराष्ट्रिय संचारमाध्यमले उनको भ्रमणलाई खास महत्व दिएका थिए। भ्रमणमा उनले जर्जटाउनको फोर सीजन्स होटलका सबै कोठा बुक गराएका थिए।

सन् २०१५ मै उनी फ्रान्स भ्रमणमा जाँदा उनीसँग एक हजार सदस्यीय भ्रमण टोली थियो। उनी बसेको होटल सामुन्ने रहेको समुन्द्री तटलाई सर्वसाधारणका लागि बन्द गरिएको थियो।

प्रकाशित: २० फाल्गुन २०७३ ०६:०६ शुक्रबार

साउदी राजाको सौख