अन्तर्राष्ट्रिय

गुम्बामा प्रहरीको छापा

बैकंक- थाइल्यान्डको एक बौद्ध गुम्बामा प्रहरीले छापा मारेको छ। पैसाको अपचलन गरेको र अकुत सम्पत्ति आर्जन गरेको आरोपमा थाइ प्रहरीले प्रभावशाली बौद्ध धर्म गुरु फ्रा धम्माजयोलाई पक्राउ गर्न छापा मारेको समाचार संस्थाहरुले बताएका छन्।

प्रहरीका अधिकारीहरु मन्दिर परिसरमा प्रवेश गरेका थिए। यो भन्दा अघि पनि थाइ प्रहरीले धर्म गुरु धम्माजयोलाई पक्राउ गर्न खोजेको थियो तर हजारौं अनुयायी उनको संरक्षणमा आएपछि प्रहरी पछि सरेको थियो। आध्यात्मिक धार्मिक नेता गुम्बाको ठूलो कम्पाउन्ड भित्र रहेको विश्वास प्रहरीले गरेको छ। थाइ प्रहरीले उनलाई बिहिबार भेट्टाउन नसकेको र शुक्रबार पनि खोजी कार्य रहने बताएको छ। प्रहरीले उक्त मन्दिरको १५ देखि २० प्रतिशत भूभाग मात्रै बिहिबार हेरेको र खोज्ने वारेन्ट १० दिनसम्मका लागि आधिकारिक रहेको थाइ प्रहरीका प्रवक्ताले बताएका छन्। धम्माकाया गुम्बा राजधानी बैकंकको बाहिरी तर्फ फैलिएर रहेको छ। गुम्बाका संस्थापक फ्रा धम्माजयोलाई मन्दिरको कोषकबाट अकुत सम्पति हिनामिना गरेको आरोपमा थाइ प्रहरीले गत जुनमा पनि उनलाई पक्राउ गर्न खोजेको थियो तर प्रहरी उनका अनुयायीका अवरोधका कारण रित्तो हात फर्कनु परेको थियो। ७२ वर्षका धर्मगुरु धम्माजयो मन्दिर भित्र कयौं महिनादेखि रहिरहेका छन्। उनका अनुयायीहरुले उनी प्रहरी अधिकारीहरुका अगाडी आउन नसक्ने र एकदमै बुढो भएको प्रतिक्रिया दिएका छन्। धर्म गुरु धम्माजयोले भने प्रशासनको आरोपको खण्डन गर्दै राजनीतिक षड्यन्त्र भएको बताउँदै आएका छन्। बिहिबार बिहानै हजारौं प्रहरी र सेनाले मन्दिर प्रवेश गर्ने र बाहिर निस्कने सम्पूर्ण सडक र मन्दिर वरपरका क्षेत्र घेरेका थिए।

'हामी मन्दिर प्रवेश गर्ने सबै बाटो बन्द गर्दैछौं र त्यसपछि सबै भवनमा खोज्ने छौं, थाइ विशेष अनुसन्धान विभागका प्रमुख कर्णेल पाइसिट वोङमाउङले बताएका थिए। 'धर्मगुरुले भनेजस्तै यदि उनी निर्दोष छन् भने उनले आत्मसमर्पण गर्नुपर्छ र न्यायिक प्रक्रियामा सहभागी हुनुपर्छ,' उनले बताए। मन्दिरका प्रवक्ताले भने धम्माजयो मन्दिरभित्र भए नभएको आफूलाई थाहा नभएको प्रतिक्रिया दिएको समाचार संस्था एएफपीले बताएको छ। 'मलाई उनी कहाँ छन् थाहा छैन? मैले उनलाई नौ महिनादेखि देखेको पनि छैन।' प्रवक्ताको भनाईलाई उद्धृत गर्दै एएफपीले बताएको छ। उक्त गुम्बाको लाखौं समर्थक रहेका छन् तर कहिले काहि बुद्ध धर्मलाई व्यापारिकरण गरेको आरोप पनि उक्त गुम्बालाई लाग्ने गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०७३ ०६:०० शुक्रबार

गुम्बामा प्रहरीको छापा