अन्तर्राष्ट्रिय

ट्रम्प र पुटिनबीच घन्टौं टेलिफोन वार्ता

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच केही महत्वपूर्ण विषय वस्तुहरुसँग सम्बन्धित रहेर घण्टौं लामो टेलिफोन वार्ता भएको छ। दुबै देशका राष्ट्र प्रमुखबीच भएको सो वार्ताका धेरै विषयवस्तुमध्ये प्रमुख दुईवटा एजेण्डा–पूर्वराष्ट्रपति बाराक ओबामाले पहिलेदेखि नै रुसमाथि लगाएका विभिन्न खाले प्रतिबन्धका भविष्यबारे प्रश्न र आतंककारी इस्लामिक स्टेट (आइएस) समूहलाई परास्त गर्न दुवै देशबीच सैनिक सहयोग प्रवर्द्धन गर्ने मार्ग पहिल्याउने लगायत अन्य बिषय पनि परेका छन्।

ह्वाइट हाउसले दुई समकक्षीबीच गहिरो वार्ता भएको औपचारिक पुष्टि गरेतापनि कुन कुन विषयमा वार्ता भए भन्ने विस्तृत खुलासा गरेको छैन। मर्मत, सुधारको आवश्यकता परेको अमेरिका–रुसबीचको सम्बन्धमा यस वार्ताले महत्वपूर्ण सुरुवात गरेको भन्दै ह्वाइट हाउसले यस बारे एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ।

दुई उच्चस्तरीय नेताबीच चलेको सो वार्तामा दुबै देशको संयुक्त दुश्मनको रुपमा खडा रहेको सशस्त्र आतंककारी समूह आइएसलाई निष्प्रभावी र परास्त गरी सिरियासहित सम्पूर्ण विश्वमा स्थायी शान्तिको उपलब्धिका लागि द्विपक्षीय सैनिक सहयोगलगायत अन्य श्रृंखलाबद्ध बिषयमा छलफल भएको जनाइएको छ।

वार्ताका क्रममा दुवै राष्ट्रपतिले यस मामिलामा आंतकवाद विरुद्धको युद्धमा साझेदारका रुपमा सहकार्य गर्ने समझदारी गरेको बताइन्छ। यता, रुसी राष्ट्रपतिको कार्यालय–क्रेमलिनले भने ह्वाइट हाउसबाट प्रकाशित विज्ञप्तिको विपरित रुस र अमेरिकाबीच मन्द मन्द गतिमा चलिरहेको व्यापार, बाणिज्य र आर्थिक गतिविधिमा सुधार र प्रबर्द्धन एंव दुवै देशका ब्यापारिक वृत्तमा सशक्तिकरण सम्बन्धमा वार्ता भएको जनाएको छ।

यस बाहेक आतंकवाद विरुद्धको युद्धमा दुवै देशको सहकार्य, अरब–इजरायलबीचको मनमुटाव र आपसी द्वन्द्व, इरानको आणविक हात हतियार उत्पादन तथा भण्डारण योजना, कोरियाली प्रायद्वीपको आपसी झै–झगडा, युक्रेनको सङ्कटजस्ता अन्तरराष्ट्रिय मामिलाका जल्दाबल्दा बिषयमा दुई उच्चस्तरीय नेताहरुबीच छलफल भएको पनि क्रेमलिनले जनाएको छ।

प्रकाशित: १७ माघ २०७३ ०४:१२ सोमबार

ट्रम्प पुटिनबीच घन्टौं टेलिफोन वार्ता