अन्तर्राष्ट्रिय

पत्रकारहरु धर्तीकै बेइमान : ट्रम्प

अमेरिका- आफ्नो सपथ ग्रहण कार्यक्रममा कम मानिसको उपस्थिति रहेको भनी समाचार सम्प्रेषण गर्ने मिडियाप्रति अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन्। गत शुक्रबार भएको राष्ट्रपतीय सपथ ग्रहण कार्यक्रममा कम मानिसको उपस्थिति रहेको विभिन्न संचारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए।

ट्रम्पले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो दिनमा भर्जिनिया राज्यमा मुख्यालय रहेको अमेरिकी खुफिया एजेन्सी सीआइएको भ्रमण गर्ने क्रममा करिब ३०० जनाको उपस्थितिमा मन्तव्य राख्दै भने, 'सपथ ग्रहण कार्यक्रममा खचाखच मानिसहरुको उपस्थिति रहेको थियो तर म आज उठ्ने बित्तिकै टेलिभिजन हेर्दा एक टेलिभिजन च्यानलले खाली मैदान देखाइरहेको थियो। मैले भाषण गर्दै गर्दा त्यहाँ लाखौँ मानिस रहेका थिए तर त्यो टेलिभिजनले त यसरी खाली मैदान देखाउँदै थियो मानौँ त्यहाँ कोही पनि थिएनन्।'

उनले भप्दै भने, 'त्यो मिडियाले ट्रम्पले मानिस उतार्न सकेनन् र जम्मा २ लाख ५० हजार मात्र मानिस जम्मा भएका थिए भन्दै थियो। त्यति सानो ठाउँमा त्यति नै मानिस रहेको कुरा सही पनि हो तर अन्य बीस ठाउँमा पनि त्यत्ति कै संख्यामा मानिसहरु जम्मा भएको कुरा चाहिं मिडियाले लुकाए।'

उनले पत्रकारहरु धर्तीकै बेइमान मानिस हुन् भन्ने आरोप लगाउँदै मिडियासँग आफ्नो युद्ध चालिरहेको पनि बताएका थिए। उनले सिआइएसँग आफ्नो कुनै पनि मतभेद नरहेको र सिआइएका कर्मचारीको समर्थनमा आफू एक हजार प्रतिशत रहेको बताएका थिए।

प्रकाशित: १० माघ २०७३ ०४:३६ सोमबार

पत्रकारहरु धर्तीकै बेइमान ट्रम्प