अन्तर्राष्ट्रिय

सन् २०१६ मा युरोप प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी गिरावट

वारसा (पोल्याण्ड)-  सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ।

सन् २०१६ मा सो बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या तीन लाख ६४ हजारमा झरेको फ्रन्टेक्सले जनाएको हो ।

इयुले टर्कीसँग सन् २०१६को मार्चमा गरेको आप्रवासीलाई युरोप प्रवेश नियन्त्रणसम्बन्धी सहमतिपश्चात् सिरियाली आप्रवासी शरणार्थीको ग्रीसलगायतका युरोपेली मुलुकमा प्रवेश गर्ने रफ्तारमा कमी आएको फ्रन्टेक्सले बताएको छ ।

प्रारम्भिक चरणमा भएका अध्ययनअनुसार सन् २०१६ मा ग्रीसको पूर्वी ऐजन क्षेत्रमा पुग्ने शरणार्थी सङ्ख्यामा ७९ प्रतिशत अर्थात् एक लाख ८२ हजार ५०० ले घटेको फ्रन्टेक्सको अध्ययन प्रतिवेदनमा छ ।

सोही समयमा इटालीको बाटो युरोप प्रवेश गर्ने शरणार्थी सङ्ख्यामा केही वृद्धि देखिए पनि सन् २०१५ को तुलनामा दुवै नाकाबाट प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी कमी आएको देखिएको छ। फ्रन्टेक्सले सन् २०१६ मा इटालीको बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या एक लाख ८१ हजार पुगेको र यो सन् २०१५ को तुलनामा २० प्रतिशतले बढी भएको जनाएको छ। यस वृद्धिमा टर्की भएर ग्रीसको बाटो युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थीको नियन्त्रणले असर पारेको अध्ययनमा जनाइएको छ।

दोस्रो विश्वयुद्धपछि सन् २०१४ र सन् २०१५ ताका द्वन्द्वग्रस्त सिरिया, यमन, अफगानिस्तानलगायतका मुलुकबाट गरिबी र द्वन्द्वबाट बचाउनका लागि युरोप तथा अमेरिका प्रवेश गर्ने आप्रवासी सङ्ख्याका कारण इयुमा नराम्रोसँग आप्रवासी शरणार्थी समस्या देखिए पनि पछिल्लो समय यसमा नियन्त्रण देखिएको हो। रासस/एएफपी
 

 

प्रकाशित: २३ पुस २०७३ १३:३० शनिबार

सन् २०१६ युरोप प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी गिरावट