अन्तर्राष्ट्रिय

रुसद्वारा ३५ अमेरिकी कूटनीतिज्ञ फिर्ता

 मस्को– अमेरिकी प्रशासनले अमेरिकास्थित ३५ जना रुसी कुटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयलाई पछ्याउँदै रसियाले पनि रुसमा रहेका ३५ जना अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने प्रस्ताव छ । रसियाली विदेश मन्त्रालयले शुक्रबार प्रस्तावका सम्बन्धमा जानकारी गराएको हो ।

रसियाली विदेश मन्त्री सर्गेइ लाभरोभले अमेरिकी प्रशासनबाट आफ्ना वासिङटनस्थित दूतलाई फिर्ता पठाउने निर्णयको प्रतिक्रियास्वरूप मस्कोले पनि मस्कोस्थित अमेरिकी कुटनीतिक अधिकारी लाई फिर्ता गर्न राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिफारिस गरेको बताए ।  

यसै साता अमेरिकी ओबामा प्रशासनले रसियाले अमेरिकी निर्वाचनमा गोप्य इमेल सार्वजनिक गरी डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनको निर्वाचन अभियानमा बदनाम गर्न रिपब्लिकन पार्टीलाई सघाएको लगायतका अन्य हस्तक्षेपकारी भूमिका खेलेको भन्दै ३५ जना रसियाली कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय लिएको  थियो ।

स्कोले फिर्ता पठाउन सिफारिस गरेका अमेरिकीमध्ये ३१ जना रसियास्थित अमेरिकी राजदूतावासमा कार्यरत कर्मचारी रहेका छन् भने चार जना सेन्टपिटर्सबर्गस्थित अमेरिकी महावाणिज्य दूतावासका कर्मचारी रहेका छन् ।

यसैबीच विदेश मन्त्रालयबाट आएको सिफारिसलाई रसियाली राष्ट्रपति पुटिनले तत्काल कार्यान्वयनमा नलग्ने प्रतिक्रिया दिएका छन् ।     विदेश मन्त्रालयबाट आएको सिफारिसलाई रसियाली राष्ट्रपति पुटिनले केही दिनमा अमेरिकी प्रशासनमा परिवर्तन हुने अवस्थालाई मध्यनजर राख्दै विदेश मन्त्रालयको प्रस्तावलाई तत्काल कार्यान्वयनमा नलग्न निर्देशन दिएको  बताइएको छ ।

पुटिनलाई बर्तमान ओवामा प्रशासनले ट्रम्पको सहयोगी भएको आरोप लगाउँदै आएको छ भने ट्रम्प तथा रसियाले यसको खण्डन गर्दै आएका छन् ।

‘पुटिन धेरै बुद्धिमान् नेता’

डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भएको भन्दै प्रशंसा गरेका छन् । अमेरिकाले निर्वाचनको समयमा साइबर हमलालगायत हस्तक्षेप गरेको बदलास्वरुप ३५ जना रसियाली कुटनीतिज्ञलाई स्वदेश फिर्ता पठाउने निर्णय गरेको थियो ।

रसियाली विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय कूटनीतिक परम्पराअनुसार ३५ जना अमेरिकी कूटनीतिज्ञलाई कारबाहीका लागि सिफारिस गरी राष्ट्रपति पुटिनकहाँ पठाएको थियो । पुटिनले अमेरिकामा नेतृत्व परिवर्तन भई रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको रसियालाई हेर्ने नीतिलाई हेरेर यस विषयलाई अघि बढाउने भनी शुक्रबार प्रतिक्रिया दिएका थिए ।

‘रसियाली राष्ट्रपतिद्वारा ढिलाई गर्ने निर्णय महान् कदम हो । मैले सधैँ उहाँलाई एक बुद्धिमान् विश्व नेताका रुपमा चिन्ने गरेको छु’ ट्रम्पले ट्वीट गरेका छन् ।
 ट्रम्पको यो भनाइले रिपब्लिकन पार्टीका केही सदस्यसहित डेमोक्रेटिक पार्टीलाई क्रोधित तुल्याएको अमेरिकीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
  ट्रम्पको रसियाली राष्ट्रपतिलाई बुद्धिमान् भनी गरेको ट्वीट सन्देशलाई वासिङ्टनस्थित रसियाली राजदूतावासले पुनः ट्वीट गरी प्रचार गरेको थियो ।

प्रकाशित: १७ पुस २०७३ ०४:१६ आइतबार

रुसद्वारा ३५ अमेरिकी कूटनीतिज्ञ