अन्तर्राष्ट्रिय

ट्रम्पको विजय रसिया बाहेक अन्यलाई अकल्पनीय थियोः पुटिन

मस्को (रसिया)-रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी जनताको सोचलाई सही रुपमा अध्ययन गरी उनीहरुको भावना अनुरुप निर्वाचन अभियान सञ्चालन गरी विजयी हासिल गर्न रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्प सफल भएको बताएका छन्।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सही ढङ्गले अमेरिकी नागरिकको भावनाको अध्ययन गरेको र उनीहरुको भावना अनुकूल अघि बढेकाले विजयी बनेका हुन् । उनले निर्वाचनको अन्त्यसम्म अविश्वसनीय तरिकाले आफ्नो अभियानलाई अघि बढाए । यसलाई रसियाबाहेक अन्य मुलुकले बुझ्न सकेको थिएन् । पुटिनले आफ्नो वार्षिक प्रेस सम्मेलनका क्रममा स्वदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीसँगको कुराकानीमा बताए।

रसियाली राष्ट्रपति पुटिनलाई के अमेरिकी जनताले उनलाई समर्थन गर्छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “मैले ठूलो सङ्ख्यामा रिपब्लिकन समर्थकले रसियाली राष्ट्रपतिलाई समर्थन गर्छन् भन्ने त लाग्दैन तर उनीहरुले रसियाको परम्परागत सोचलाई मन पराउँछन् । यो नै रसिया र अमेरिकाबीच सम्बन्ध विस्तार गर्ने सही सुरुआत हुन सक्छ ।”

अमेरिकी डेमोक्रेटिक पार्टीका इमेल ह्याक गर्ने कुरा महत्पूर्ण नभएको बताउँदै यो जसले गरेका भए पनि अमेरिकी जनतालाई ‘सही सूचना’ प्रवाह इमेल चुहावटबाटै भएको पुटिनले बताए।

वासिङटनले रसियामाथि इमेल ह्याकको आरोप लगाएकाप्रति सङ्केत गर्दै पुटिनले भने, “क्रेमलिनले यसबारे पटकपटक खण्डन गरिसकेको छ । यो त निर्वाचनमा पराजित समूहले आफ्नो नाक जोगाउने प्रयास मात्र हो । ” रासस/एएफपी

प्रकाशित: ९ पुस २०७३ ०६:०३ शनिबार

ट्रम्पको विजय रसिया बाहेक अन्यलाई अकल्पनीय थियोः पुटिन