अन्तर्राष्ट्रिय

इस्तानबुल विस्फोटमा ३८ को मृत्यु

इस्तानबुल– टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम विस्फोटमा परी ३८ व्यक्तिको मृत्यु भएको छ ।

    सो विस्फोटमा परी २७  प्रहरी अधिकृत र ११ सर्वसाधारणको मृत्यु भएको हो । उक्त घटनामा अन्य १६६ जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    बेसिक्टास जिल्लाको खेलमैदानमा फुटबल प्रतियोगिता सकिएको डेढ घण्टापछि मानिसहरुको भिडभाड भइरहेका बेला ड्युटीमा रहेका प्रहरीलाई लक्षित  गरी सो विस्फोट गराइएको गृहमन्त्री सुलेम्यान सोएलुले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।  

    फुटबल प्रेमीहरुले खेलमैदान छाडेपछि मात्रै घटनास्थलमा विस्फोट भएको उपप्रधानमन्त्री नुमान कुर्तुल्मु बताए ।  विस्फोट धेरै शक्तिशाली भएको र बोस्फोरसको दुवै तर्फ सुनिएको थियो । पहिलो धमाका स्टेडियम बाहिर रहेको बसमा गराइएको थियो भने दोस्रो हमला नजिकैको पार्कमा गरिएको थियो । पार्कमा भने हमलावारले आफैंलाई समेत उडाएको थियो । दोस्रो धमाकासँगै गोलीबारीको आवाज पनि सुनिएको स्थानीयले बताएका छन् ।

    घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको र १७ जनाको शल्यक्रिया  भइरहेको स्वास्थ्य मन्त्री रेसेप आक्डगले जानकारी दिए । राष्ट्रपति रेसेप तायिप इर्डोगानले भने ट्िवटरमा ‘हाम्रो संघर्ष जारी छ’लेख्दै आक्रमणको निन्दा गरेका छन् ।   

    इस्तानबुलमा पछिल्लो बम आक्रमण गत जुनमा भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा आत्मघाती बम हमला हुँदा ४५ जनाको मृत्यु भएको थियो ।  
यसैबीच टर्कीमा आइतबार एक दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।     सो विस्फोटमा परी २७  प्रहरी अधिकृतसमेत २९ व्यक्तिको मृत्यु हुनको साथै  अन्य १६६ जना घाइते भएका थिए ।

    टर्कीका प्रधानमन्त्री बिनाली यिल्दिरिमले विभिन्न सरकारी कार्यिलय र देशभरी रहेको राष्ट्रिय झण्डा आधा झुकाउनसमेत आदेश दिएका छन् । सो विस्फोट फुटबल खेल मैदानजिकै र अर्को एक पार्कनजिकै गरिएको सरकारी समाचार समिति अनादोलुले जानकारी दिएको छ ।

टर्कीका गृहमन्त्रीले आक्रमणमा संलग्न भएको अनुमान १० जनालाई गिरफ्तार गरिएको बताएका छन् । आक्रमणको पछाडि कुर्दिस लडाकुको हात रहेको अनुमान गरिएको छ । १६ महिना पहिले सकिएको सरकार र कुर्दिस लडाकुको युद्धविरामसँगै चरमपन्थी कुर्दिस लडाकुले सुरक्षाबललाई निसाना बनाउँदै आएका छन् । सरकारले आक्रमणको बदला लिने बताएको छ ।

क्याप्सन ः टर्कीको इस्तानबुलमा आइतबार राष्ट्रिय झन्डाले छोपिएका मृतक प्रहरी अधिकारीको कफिनका साथ अन्य प्रहरी । तस्बिर ः रोयटर्स  

प्रकाशित: २७ मंसिर २०७३ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App