अन्तर्राष्ट्रिय

राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

भारतीय नेसनल कंग्रेस पार्टीका नेता राहुल गान्धीलाई गुजरातको सुरतस्थित एक अदालतले आपराधिक मानहानिको मुद्दामा दुई वर्ष जेल सजाय सुनाएको छ। अदालतले उनलाई धरौटीमा छाड्न आदेश गर्दै फैसलामा चित्त नबुझे माथिल्लो अदालतमा पुनरावेदन गर्न ३० दिनको समय दिएको छ। विपक्षी दलका नेता गान्धीले सन् २०१९ मा कर्नाटकमा आयोजित एक चुनावी सभामा मोदी थरका सम्बन्धमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै दायर मुद्दामा अदालतले यस्तो सजाय सुनाएको हो। गान्धीले किन सबै चोरहरूको साझा थर ‘मोदी’ हुँदो रहेछ भन्ने प्रश्न उक्त सभामा गरेका थिए। उनले त्यतिबेला फरार हीरा व्यापारी निरभ मोदी र भारतीय क्रिकेटका प्रमुख ललित मोदीलाई संकेत गर्दै उक्त प्रश्न गरेका थिए।

अदालतमा बहसका क्रममा गान्धीलाई अधिकतम सजाय हुनुपर्ने जिकिर उनीविरुद्ध निवेदन गर्ने पक्षका वकिलले गरेका थिए। ती वकिलको मागअनुसार अदालतले फैसला सुनाएको हो। न्यायाधीशले आदेश सुनाउँदा गान्धी अदालतमा उपस्थित थिए। भारतीय जनता पार्टी (बिजेपी) का सांसद पुर्नेश मोदीको उजुरीका आधारमा गान्धीविरुद्ध मुद्दा दायर भएको थियो। सांसद पुर्नेशले गान्धीको टिप्पणीले पुरै मोदी समुदायको अपमान भएको दाबी गरेका थिए।

भारतीय नेसनल कंग्रेस पार्टीले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। कांग्रेसले भनेको छ, ‘हामी लड्नेछौं र जित्नेछौं।’ अदालतमा गान्धीका वकिलले उनको भाषण प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित रहेकाले उजुरीकर्ता  पुर्नेश नभई प्रधानमन्त्री मोदी हुनुपर्ने तर्क गरेका थिए।

फैसलापछि एक ट्विटमा राहुलले महात्मा गान्धीको एक भनाइ उद्धृत गर्दै भनेका छन्, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो भगवान् हो र अहिंसा त्यसलाई हासिल गर्ने साधन।’

भारतीय दण्डसंहिताको धारा ४९९ र ५०० का आधारमा गान्धीविरुद्ध मुद्दा दर्ता भएको थियो। यस प्रकारको मुद्दामा अधिकतम दुई वर्ष जेल सजाय तोक्न सकिने प्रावधान छ। हिन्दुस्थान टाइम्सका अनुसार गान्धीले धरौटीका लागि १० हजार भारतीय रूपैयाँ बुझाएका छन्।  

मुद्दा सुनुवाइका क्रममा गान्धीले कुनै समुदायलाई ठेस पु¥याउने हिसाबले उक्त अभिव्यक्ति नदिएको बताएका थिए। समग्र घटनाक्रमबारे कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले भनेका छन्, ‘यो विषयमा हामीलाई पहिल्यै अन्दाज थियो। राहुल गान्धीलाई जमानत पनि मिलिसकेको छ। सविधानअनुसार हामी आगामी कदम तय गर्नेछौं। बिजेपीले आफूबाहेक अरू सबैविरुद्ध औंला ठड्याउने गरेको छ।’ कंग्रेस अध्यक्ष खर्गेले बिजेपी सरकारलाई तानाशाहको संज्ञा दिँदै गान्धीले सरकारका काला कामको उजागर गरेकाले सरकारले उनलाई लक्षित गरेको बताएका छन्।  

प्रियन्का गान्धीले सरकारले साम, दाम, दण्ड र भेद लगाएर राहुलको आवाज दबाउने चेष्टा गरिरहेको बताएकी छन्। प्रियान्का राहुलकी दिदी हुन्। उनले आफ्नो भाइ राहुल कहिल्यै नडराएको र अब पनि नडराउने बताएकी छन्।  

गुजरात बिजेपीका अध्यक्ष सिआर पाटिलले राहुलले आफ्नो अभिव्यक्ति नियन्त्रण गर्न नसकेका कारण सजाय भोग्न बाध्य भएको प्रतिक्रिया दिएका छन्। अदालतले जेल सजाय सुनाए पनि राहुलको सांसद पद तत्कालका लागि धरापमा नपर्ने भारतीय समाचार माध्यमले जनाएका छन्। अदालतको आदेशविरुद्ध ३० दिनभित्र पुनरावेदन गर्ने राहुलका वकिलले बताएका छन्।  

प्रकाशित: १० चैत्र २०७९ ०१:१० शुक्रबार

राहुल गान्धी