अन्तर्राष्ट्रिय

सी चिनफिङ भ्लादिमिर पुटिनबाट के चाहन्छन् ?

चिनियाँ नेताको मस्को यात्राले उठाएका प्रश्न

चिनियाँ राट्रपति सी चिनफिङ सोमबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई क्रेमलिनमा भेट्दै।तस्बिरः सिन्ह्वा

दोस्रो विश्वयुद्धपछि विश्वको भूराजनीतिमा चीन, रुस र अमेरिकाको त्रिकोणात्मक प्रभाव रहेको छ। सन् १९५० ताका माओत्सेतुङ र जोसेफ स्टालिनबिचको सहकार्यलाई तोड्न र कम्युनिस्टहरूको विस्तारलाई रोक्न अमेरिका सक्रिय रहेको थियो। यही उद्देश्य हासिल गर्न अमेरिकाले कोरिया र भियतनाममाथि आक्रमण गर्यो। अमेरिकाले ताइवानको सुरक्षाका लागि प्रतिबद्धता व्यक्त गरे पनि सो समयमा विश्वका अन्य स्थानमा भने विभिन्नखाले प्रोक्सी लडाइँ छेडिएका थिए।  

तर त्यसको एक दशकपछि निकिता ख्रुस्चेफसँगको मतभेद देखिएपछि अमेरिकाले चीनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेर मेलमिलापको हात अगाडि बढाएको थियो। यही कारण अफगानिस्तानमा रहेका रुसी सैनिकविरुद्ध चीनले गुप्त सहयोग गरेकाले चीनलाई आफ्ना आर्थिक वृद्धिका गतिविधिलाई तीव्र पार्न सहयोग पुगेको थियो र विश्वव्यापी शक्तिको रूपमा उदय भएर चीनले अमेरिकालाई चुनौती दिनसक्ने हैसियत बनाएको थियो। तर अहिले त्यही त्रिकोणात्मक समीकरणमा परिवर्तन देखिएको छ। सोमबारदेखि चिनियाँ नेता चिनफिङ रुसको तीनदिने भ्रमणमा छन्। गत वर्ष युक्रेनमाथि रुसी आक्रमणपछि पहिलो पटक चिनियाँ नेताले रुसको भ्रमण गरेका हुन्। रुससँगको एकताको बलियो प्रदर्शन गर्ने उद्देश्यले यो भ्रमण गरिएको बताइन्छ। भ्रमणको अवसरमा रुसले घातक हतियार, आक्रमण गर्नसक्ने ड्रोन तथा अर्टिलरी गोलाबारुद आपूर्ति गर्न चीनसँग अनुरोध गर्ने अमेरिकी अधिकारीको ठम्याइ छ। यदि रुसी अनुरोधलाई चीनले स्वीकार गर्यो भने यसले नाटोसँग चीनको प्रोक्सी युद्ध सुरु हुनेछ।  

भ्रमणको उद्देश्य शान्ति स्थापनाका लागि रहेको र हातहतियारको विषय समावेश नरहेको चिनियाँ दाबी छ। गत फेब्रुअरीमा रुस–युक्रेन युद्धविरामका लागि चीनले प्रस्तुत गरेको १२बुँदे प्रस्तावका विषयमा छलफल गर्न र जारी युद्ध अन्त्य गर्ने दिशामा पहलकदमी लिन भ्रमणकेन्द्रित रहने चिनियाँ तर्क छ।  

कुनै पनि देशको भौगोलिक अखण्डताप्रति सम्मान र आणविक हतियारलगायत कुनै पनि हतियारको प्रयोग गर्न नपाइने आफ्नो यसअघिको धारणालाई राष्ट्रपति चिनफिङले दोहोर्याउने बताइएको छ। गत मार्च १० मा साउदी अरेबिया र इरानबिच कूटनीतिक सम्बन्धको पुनस्र्थापना गर्न आफूले खेलेको भूमिकालाई आफ्नो शान्ति स्थापनाको प्रामाणिक क्षमता भनेर चीनले महत्व दिँदै आएको छ। रुसी भ्रमणप्रतिको पश्चिमा आलोचनालाई मत्थर गर्न चिनियाँ राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भर्चुअल संवादसमेत गर्नसक्ने आकलन गरिएको छ। यदि त्यसो भए यो युक्रेनमाथि रुसी आक्रमणपछिको चीनियाँ तथा युक्रेनी नेताबिचको पहिलो औपचारिक संवाद हुनेछ। यसले गरिब तथा मध्यम आय भएका राष्ट्रहरूमा आशाको सञ्चार गर्नेछ र चीनप्रति कम आक्रामक हुन कतिपय पश्चिमा राष्ट्रले अमेरिकालाई यसअघि दिँदै आएको दबाबलाई थप बल पुग्नेछ।  

तर राष्ट्रपति चिनफिङको मनसाय त्यति प्रस्ट छैन। एकातिर चीनले तटस्थताको वकालत गरेको छ भने अर्काेतिर उसले रुसी आक्रमण र रुसी सैनिकले युक्रेनमा गरेको अत्याचारको निन्दा गर्न अस्वीकार गर्दै आएको छ। भ्रमणको क्रममा युद्धका लागि अन्यलाई दोषी ठान्ने र नाटोको विस्तार गर्ने चाहनालाई कारक मानेको रुसी तर्कलाई राष्ट्रपति चिनफिङले समर्थन गर्ने प्रबल सम्भावना छ। रुसलाई हातहतियार उपलब्ध गराउन अनिच्छुक रहेको अवस्थामा पनि चीनले रुसलाई गैरसैनिक सहयोग गर्ने प्रस्ट छ। आक्रमणपछि पश्चिमा राष्ट्रले रुसप्रति विभिन्न प्रतिबन्ध लगाए पनि चीनले यसको समर्थन गरेको छैन। बरु, यो अवधिमा चीनले रुससँग ठुलो स्तरमा तेल र ग्यास खरिद गरेको छ र ठूलो मात्रामा आफ्ना इलेक्ट्रोनिक्स र अन्य सरसामान रुसलाई बिक्री गरेको छ। 

के चीनसँग शान्ति योजना छ?

चीनले अगाडि बढाएको शान्ति योजनाप्रति युक्रेन र उसका पश्चिमा सहयोगीले खास उत्साह देखाएका छैनन्। शान्ति योजनामा पश्चिमा राष्ट्रले रुसमाथि गरेको प्रतिबन्धको अन्त्य हुनुपर्ने भनिएको छ तर युक्रेनी भूभागबाट सैनिक फिर्ता हुनुपर्ने आवश्यकतालाई महत्व दिइएको छैन। यो प्रस्तावमा क्रेमलिनले दाबी गरेजस्तै सुरक्षाका लागि सैनिक ब्लकको सुदृढीकरण र विस्तारलाई महत्व दिन नहुने बुँदालाई संकेत गरिएको छ। चीनका राष्ट्रपतिले गत वर्ष प्रस्ताव गरेको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स’मा राखिएका बुँदाहरू यो प्रस्तावमा मुखरित भएका छन्। अमेरिकाको नेतृत्वमा अगाडि बढाइएको नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था (रुल बेस्ड इन्टरनेसनल अर्डर) को विकल्पका रूपमा चीनले गत वर्ष यस्तो प्रस्ताव गरेको थियो। चीनको यो प्रस्तावलाई मस्को भ्रमणमा पनि महत्व दिइने आकलन छ।  

रुसको अनिश्चित राजनीति र कमजोर आर्थिक अवस्थाका परिप्रेक्ष्यमा चीनको सहयोग उसका लागि महत्वपूर्ण रहनेछ तर यसले चीनका दुई ठूला व्यापारिक पार्टनर अमेरिका र युरोपियन युनियनलाई चीनविरुद्ध सख्त प्रतिबन्ध लगाउने अवस्था सिर्जना हुनेछ। यसले चीनको अर्थतन्त्रको पुनरुत्थानको चाहनालाई पनि प्रतिकूल प्रभाव पार्नेछ। सँगसँगै यो विकासक्रमले नयाँ शीत युद्धको वास्तविकता झन् बढी मुखरित हुनेछ।  

ताइवानको विषयमा अमेरिकासँग दीर्घकालीन द्वन्द्व रहने चिनियाँ आकलन छ। चीनले ताइवानलाई आफ्नै भूभाग भनेर दाबी गर्दै आएको छ। यो अवस्थामा रुससँगको सम्बन्ध सैनिक तथा कूटनीतिक हिसाबले महत्वपूर्ण हुने चीनको ठम्याइ छ। युक्रेन युद्धमा रुसको हार भएमा यसले अमेरिका र उसका सहयोगीको मनोबल बढ्ने चीनले ठानेको छ। यदि पुटिन शक्तिबाट हटेमा रुससँग सीमा जोडिएको चीनको उत्तरी क्षेत्रमा अस्थिरता बढ्ने तर्क उसको छ।  

पश्चिमा राष्ट्रका समर्थकले रुसमा कथंकदाचित नेतृत्व लिएको अवस्थामा आफ्नो शक्तिलाई नियन्त्रण गर्ने बाह्य प्रयासलाई थप बल पुग्ने तर्क चीनको छ।

‘चीनले यो अवस्थालाई दुःस्वप्नको रूपमा लिएको छ,’सिंगापुरस्थित नानयाङ प्राविधिक विश्वविद्यालयका चिनियाँ विदेश नीतिका विज्ञ लि मिङजियाङ भन्छन्, ‘चिनियाँ राष्ट्रपति सी अमेरिकालाई सम्भावित खतरा ठान्ने र त्यो खतरा आएको अवस्थामा पश्चिमा आर्थिक तथा सैनिक दबाब थेग्न चीनसँग अन्य कुनै ठूलो शक्ति नभएकाले चीनका लागि रुस एक प्रमुख विकल्प रहेको छ।’

मिङजियाङका अनुसार शीत युद्धका बेला माओले सोभियत युनियनलाई एक नम्बरको शत्रु ठानेर अमेरिकासँग सम्बन्ध सुधार गरेका थिए र त्यही तर्क अनुरूपमा रणनीति अहिले चीनले अख्तियार गरेको देखिन्छ। उता, राष्ट्रपति सीको रुससँग पारिवारिक सम्बन्ध पनि छ। उनका क्रान्तिकारी पिता सी झोङजुनले सन् १९५० ताका रुसी विज्ञको सहयोगमा चीनमा उद्योगहरू स्थापना गरेका थिए। उपप्रधानमन्त्रीको हैसियतमा झोङजुनले सन् १९५९ मा मस्को भ्रमण गरेका थिए। भ्रमणपछि उनले रुसको खुलेर प्रशंसा गरेका थिए र रुसबाट ल्याइएका खेलौनाका कारण त्यतिबेला ६ वर्षका रहेका वर्तमान राष्ट्रपति सी चिनफिङ अत्यन्त खुसी भएका थिए। चीनको सांस्कृतिक क्रान्तिताका सन् १९६९ मा १५ वर्षीय चिनफिङलाई चीनको एक दुर्गम गाउँमा राखिएको थियो। त्यतिबेला उनले लिओ टाल्सटोयले लेखेको ‘वार एन्ड पिस’लगायत लेनिनले लेखेका लेख, अन्य रुसी उपन्यास पढेका थिए र यसले उनको रुसप्रतिको आकर्षण बढेको थियो।  

चिनफिङ मात्र होइन, चीनका वरिष्ठ सैनिक अधिकारीहरूको पनि रुसलाई हेर्ने दृष्टिकोण समान रहेको छ। सन् १९८९ मा तियानामेन स्वायरमा प्रदर्शनकारीमाथि भएको दमनपछि पश्चिमा राष्ट्रले चीनलाई हतियार प्रतिबन्ध लगाएको र चीनले रुससँग अर्बाैं डलरबराबरको हतियार खरिद गरेको थियो। सन् १९९९ मा वेलग्रेडस्थित चिनियाँ दूतावासमा अमेरिकाले बम विस्फोट गराएपछि अमेरिकाप्रति चिनियाँ सैनिकको अवधारणा अत्यन्त सख्त रहँदै आएको थियो। पछि सो घटना गल्ती भएको भन्दै अमेरिकाले चीनसँग माफी मागेको थियो। राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएपछि राष्ट्रपति सीले सबैभन्दा पहिला मस्को भ्रमण गरेका थिए र दुवै देश मिलेर पश्चिमा शक्तिसँग जुध्ने बताएका थिए। ‘हाम्रा आधारभूत चरित्र समान छन्,’ उनले पुटिनलाई त्यतिबेला भनेका थिए। त्यसपछि यी दुई नेताबीच ३९ पटक भेटघाट भएको छ।  

युक्रेन युद्ध सुरु हुनअघि सन् २०२२ को फेब्रुअरीमा चीनमा आयोजना भइरहेको विन्टर ओलम्पिक्समा पुटिन सहभागी भएका थिए। ओलम्पिक्सको उद्घाटनको क्रममा दुवै नेताले दुई देशबीच ‘सीमाविहीन सम्बन्ध’ रहेको बताएका थिए। उता, चीनले अमेरिकासँग विद्यमान तनावलाई न्यून गर्न खोजेको देखिन्छ। गत नोभेम्बरमा जी७ समूहको बैठकमा अमेरिकाका राष्ट्रपति जो बाइडेनसँगको भेटघाटमा दुवै नेता सहयोगका सम्भावित क्षेत्रमा हातेमालो गर्न सहमत भएका थिए। तर आफ्नो आकाशमा जासुसी बेलुन उठाएको भनेर अमेरिकाले चिनियाँ बेलुन खसालेपछि दुई देशबीचको सम्बन्ध पुनः बिग्रिन गएको छ।  

सन् २०२२ मा रुसले चीनमा गर्ने कच्चा तेल र ग्यास निर्यात ४४ प्रतिशतले बढेको थियो। सोही वर्ष माइक्रोचिप्सलगायत चिनियाँ सामानको रुसमा गरिने निर्यात १२.८ प्रतिशतले बढेको थियो। यसैगरी चीन र रुसले सयुक्त रूपमा गर्ने मिलिटरी अभ्यास पनि जारी रहँदै आएका छन्। गत नोभेम्बरमा सी अफ जापान र इस्ट चाइना सीमा यी दुवै देशले संयुक्त अभ्यास गरेका थिए भने यही मार्च १५ मा रुस, चीन र इरानले गल्फ अफ ओमानमा सामुद्रिक सैनिक अभ्यास गरेका थिए।  

हतियार आपूर्ति अनिश्चित  

भ्रमणको क्रममा चीनसँग घातक हतियार खरिद गर्ने रुसको चाहना रहे पनि यो विषयमा चीन अझै अनिर्णीत छ। भ्रमणको बेला हतियार आपूर्तिसम्बन्धी सहमति हुनसक्ने अमेरिकी अधिकारीको तर्कलाई चिनियाँ अधिकारीले अस्वीकार गरेका छन्। अमेरिकाले ताइवानलाई निरन्तर हतियार उपलब्ध गराएको तर्क गर्दै यस्तो अवस्थामा चीनले रुसलाई हतियार दिन अनौठो नहुने उनीहरूको तर्क छ।  

यदि राष्ट्रपति सीले रुसलाई हतियार दिन तयार भए भने पनि त्यो निर्णय गोप्य हुने विज्ञहरू ठान्दछन्। चीनको लोगो हटाएर अन्यत्र निर्माण भएका हतियारको रूपमा चिनियाँ हतियार आपूर्ति हुनसक्ने सिआइएका पूर्व अधिकारी डेनिस विल्डन बताउँछन्। यसैगरी उत्तर कोरिया र इरानमार्फत पनि यस्ता हातहतियार रुस आपूर्ति हुनसक्ने उनको तर्क छ। तर गुपचुपमा गरिने हतियार आपूर्तिका आफ्नै सीमा छन्। ड्रोन जस्ता अत्याधुनिक तथा ठूला स्तरका हतियारको पारवहन लुकाउन त्यति सजिलो छैन। यसैगरी युद्धविरामका लागि भनेर गरिएको मस्को भ्रमणमा यस प्रकारको सहमति भएमा स्वयं राष्ट्रपति सीप्रतिको आमधारणा प्रतिकूल हुन सक्छ र युरोप र अमेरिकासँगको चिनिया सम्बन्ध नराम्ररी बिग्रन सक्छ।  

आगामी दिनमा युद्ध कसरी अगाढि बढ्नेछ भन्ने विषय महत्वपूर्ण हुने विज्ञ ठान्छन्। चीन–रुस सम्बन्धका ज्ञाता तथा अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयका प्राध्यापक अलेक्जेन्डर कोरोलेभ भन्छन्, ‘यो विषय चीन र अमेरिकाबीच रहेको तनावसँग पनि जोडिएको छ। ‘रुसलाई आवश्यक हतियार दिएर चीनले पश्चिमा राष्ट्रलाई त्यसतर्फ बढी ध्यान दिन बाध्य पार्न सक्छ र त्यतिबेला उसले ताइवानमा आफ्नो स्थिति सहज पार्न सक्छ,’ उनी भन्छन्।

प्रकाशित: ८ चैत्र २०७९ ००:५७ बुधबार