अन्तर्राष्ट्रिय

के खाने, के नखाने !

हिजोआज मोटोपन एउटा अन्तर्राष्ट्रिय मुद्दा बन्न पुगेको छ । त्यसैले संसारभर यसको समाधान खोजी गर्ने प्रयास जारी छ । पहिले मान्छे धेरै खान्छ र मोटोपन बटुल्छ अनि फेरि त्यसलाई कम गर्न थरिथरिका काम गर्छ । रोचक त के छ भने वजन कम गर्न सुझाइएका कैयौँ उपायमध्ये केही चाहिँ खानु नै रहेको छ ।

बेलायतमा १९ औँ शताब्दीमा मोटोपन भएका मानिसलाई ‘बेटिङ’ गर्ने सल्लाह दिइन्थ्यो । १८६० ताका बेलायतका विलियम बेटिङले मोटोपनबारे पहिलो पटक चिन्ता गर्दै खानपानमा ध्यान दिन सुझाव दिएका थिए । हुन त कसैलाई के खाँदा राम्रो हुन्छ, कसैले के खाँदा । खान्कीका बारेमा पनि यस्तै समस्या छ ।
पहिला अण्डा खानु स्वास्थ्यका लागि खराब हो भनिन्थ्यो, कारण थियो यसले बढाउने कोलेस्ट्रोल । १९९५ मा गरिएको एक शोधअनुसार हरेक दिन दुई वटा अण्डा खाँदा स्वास्थ्यमा कुनै पनि असर नपर्ने बताइएको थियो । अण्डामा भएको प्रोजिन, भिटामिनले मानिसलाई फाइदा नै पु¥याउँछ । १९८० को दशकमा यस्तै कुरा मख्खनका बारेमा पनि थियो । मख्खनले कोलेस्ट्रोल बढाउने मानिन्थ्यो ।

मोटोपनको डर हुन्थेन भने हामी मन खोलेर खान्थ्यौँ होला ! त्यस्तो नहुनाले हामीले खान्कीमा नियन्त्रण गर्नुपर्छ र थरिथरिका डाइट सूचीअनुसार हिँड्नु पर्छ । कैयौँ पटक त सूचीअनुसार हिँड्दा हामीलाई आवश्यक पर्ने चिज पनि खान पाउँदैनौँ ।

१९ औँ शताब्दीमा फ्रान्सेली प्राध्यापक मार्सिलिन बर्थोल्टले अबको शताब्दी मानिसले पूरै रासायनिक खानामा भर पर्नुपर्ने भविष्यवाणी गरेका थिए । सन् १८९६ मा अर्का एक लेखकले सबै किसिमको पौष्टिक पदार्थ भरिएको गोलीले मानिसको भोक मेट्ने भनी लेखेका थिए । सन् १९७३ मा ‘साइलेन्ट ग्रिन’ नामक फिल्मका चरित्रले पोषक तत्वहरुको केमिकल डाइट खाएर बाँचेको देखाइएको थियो । पछि बजारमा ‘साइलेन्ट’ नामक त्यस्तै औषधि सप्लिमेन्ट पनि बजारमा आएको थियो । तर माछामासु, स्याउजस्ता प्राकृतिक चिज खाने कि ट्याब्लेट खाने ?

हिजोआज समुद्रमा पाइने एक किसिमको काईलाई खान्कीका रुपमा प्रयोग गर्न सकिनेतर्फ वैज्ञानिकहरुले शोध गरिरहेका छन् । सैवाल नामक यस काईलाई समुद्री किनारका आदिवासीहरुले लामो समयदेखि भान्सामा उपयोग गरिरहेका पनि छन् । वैज्ञानिकहरुले समुद्रमा भएका वनस्पतिहरुमध्ये कुनमा राम्रो प्रोटिन, कार्बोहाइड्रेड लगायतका चिज पाइन्छन् भनी खोजी गरिरहेका छन् । सैवाल यस्तै एक किसिमको खेती हुन सक्नेतर्फ उनीहरुको धारणा छ ।

मार्गरेट एटवुडले विज्ञान फेन्टासी उपन्यास ‘ओरिसकस एन्ड क्रेक’मा ल्याबमा मासु उत्पादन गर्ने सपना देखाएकी थिइन् । कारखानामा मासु उत्पादन गर्ने काम पनि भइरहेको छ र निकट भविष्यमै पनि जनावरको मासु होइन, कारखानाको मासु लोकप्रिय पनि हुन सक्छ ।

हुन त ल्याबमा बनाइएको मासुले पशुको मासु खान पल्केका मानिसहरुलाई नरुच्न पनि सक्छ । हुन त सबै पोषकतत्व दिने खाना ल्याबमा बनाएर वा ट्याबलेटका रुपमा पस्किनु पनि उति सहज छैन । सहज भए पनि वास्तविक खान्कीको ठाउँ यसले लिन सक्तैन । तर सँगैमा प्रश्न के पनि उठ्छ भने जीवनभरि नै केही काम नगरी ल्याबमा बनाइएको खान्कीमा निर्भर हुनुपर्ने जिन्दगी पनि कहीँ जिन्दगी होला त ?
बिबिसी फ्युचरका लागि बिनाका नोग्राडीको आलेख

प्रकाशित: १२ मंसिर २०७३ ०४:३६ आइतबार

खाने नखाने