रुस- रुसले अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट बाहिरिने संकेत गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीमा सम्मिलित हुने प्रकृया रोक्ने एउटा आदेशमाथि हस्ताक्षर गरेसँगै रुस सो अदालतबाट बाहिरिन चाहेको संकेत पाइएको हो।
सन् १९९८ मा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुको एउटा समूहले रोम सन्धि स्वीकार गरेको थियो जसले अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीको स्थापना गरेको थियो।
त्यसले आमहत्या, मानवता विरुद्धका अपराध, युद्ध अपराध र आक्रमणका अपराध गरी चारवटा प्रमुख अन्तर्रार्िष्ट्रय अपराधहरुको पहिचान गरेको थियो। त्यसको दुई वर्षपछि रुसले त्यो सन्धिमा हस्ताक्षर गर्यो तर सन्धिलाई कहिल्यै अनुमोदन गरेन।
अमेरिका र चीन जस्ता केही शक्ति राष्ट्रहरु आइसीसीमा सम्मिलित छैनन्। बिहीबार त्यो सन्धि अनुमोदन गर्ने प्रकृयालाई रुसी राष्ट्रपति पुटिनले रोकेका छन्।
यसै हप्ता केही समयअघि आइसीसीका अभियोजनकर्ताले एउटा प्रतिवेदन सार्वजनिक गरेका थिए। प्रतिवेदनमा रुस र युक्रेनबीचको सशस्त्र द्वन्द्वपछि मस्कोले क्रिमियालाई आफूमा मिलाएको र रुसले आक्रमणको थालनी गरेको भनी आरोप लगाइएको छ।
थुप्रै देशहरुले अभूतपुर्व रुपमा आइसीसी त्यागेपछि उत्पन्न भएको अनिश्चितताका बीच आइसीसीको वार्षिक बैठक शुरु भएको हो। अफ्रिकी राष्ट्रहरुलाई आइसीसी छोडेर नजाने अपील गरिएको छ। दक्षिण अफ्रिका र बुरुण्डी पछि आज गाम्बियाले औपचारिक रुपमा संयुक्त राष्ट्रसंघलाई आइसीसीबाट बाहिरिने सूचना दिएको छ।
वार्षिक बैठकलाई सम्बोधन गर्दै अदालतका अध्यक्ष सिदिकी कबाले आजको परिवेशले सबैका लागि न्यायको अवधारणाको बचाउ गर्नु एकदम जरुरी बनाएको बताएका थिए। आइसीसीमा हाल जारी १० वटा अनुसन्धान मध्ये प्राय अफ्रिकी मुलुकमा आधारित छन् र आइसीसी छोड्ने ३ देशले त्यो न्यायालय अफ्रिकाविरुद्ध पूर्वाग्रही भएको आरोप लगाएका छन्। केन्या नामिबिया र युगाण्डाले पनि आइसीसी त्याग्नेबारे विचार गरिरहेको बताएका छन्।
प्रकाशित: ३ मंसिर २०७३ ०३:०७ शुक्रबार