अन्तर्राष्ट्रिय

जहाँ तिहारमा ल्यापटपको पूजा गरिन्छ

तिहार अवसरमा व्यापारी समुदायमा धनको पूजा हुनु सामान्य कुरा हो। कतिपयले व्यापारी समुदायमा आफ्नो बही खाताको समेत पूजा गर्ने परम्परा छ। यो परम्परामा विस्तारै परिवर्तन भइरहेको देखिएको छ। खातापाताको स्थान कम्प्युटरले लिएसँगै व्यापारी समुदाय तिनै कम्प्युटर अथवा ल्यापटपलाई पूजा गर्न थालेका छन्।

भारतको गुजरातमा कम्प्युटर तथा ल्यापटप पूजा गर्ने व्यापारीको संख्या वर्षेनी बढ्दो छ। पहिला खाताको पूजा गर्नेहरु अहिले ल्यापटप पूजा गर्ने भएका छन्। गुजरातमा नयाँ व्यापारीको संख्यामा आएको बढोत्तरीले पनि ल्यापटप पूजा गर्ने जमात अझ बढाइदिएको छ।

बहीखाता पूजागर्ने महेश ठक्करका अनुसार दिपावलीमा ल्यापटप पूजा एउटा विशेष परम्परा हो। ‘यसरी पूजा गर्दा संसारमा भइरहेको आर्थिक मन्दी तथा कठिनाइ हटोस् भन्ने कामना पनि गरिन्छ’, उनले भने, ‘सबैको दुःख हटोस् भन्ने कामना गरिन्छ।’

ल्यापटप पूजा गर्दा उनीहरुलाई निश्चित रुपमा फाइदा पुग्ने व्यापारीहरुको विश्वास छ। धेरै व्यापारीहरु दिपावालीको दोस्रो दिनदेखि आफ्नो नयाँ वर्ष सुरु भएको मान्छन्। त्यही भएर उनीहरु ल्यापटप पूजा गर्न कुनै कसर बाँकी राख्दैनन्। बहीखाताको स्थान ल्यापटपले लिएपछि पूजा विधिमा पनि परिवर्तन गरिएको छ। तर भगवान्प्रतिको आस्था भने मान्छेमा सधैँ उस्तै छ।

प्रकाशित: १५ कार्तिक २०७३ ०६:०३ सोमबार

जहाँ तिहारमा ल्यापटपको पूजा गरिन्छ