अन्तर्राष्ट्रिय

हाइटीमा आँधीले २३ को ज्यान लियो

हाइटी–  हाइटीमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार २३ पुगेको छ । बुधबार नौ जनाको मृत्यु भएको यहाँको गृह मन्त्रालयले जानकारी दिएको थियो ।  यस प्रकोपको कारण दशौं हजार मानिस विस्थाापित भएका छन् ।

    विश्वकै गरिब मुलुकमध्येको एक राष्ट्र हाइटीको पश्चिमी क्षेत्रमा अघि बढेको उक्त म्याथु नामक आँधी क्रमशः पूर्वी क्युबातिर बढिरहेको बताइएको छ । आँधीका कारण हाइटीको राजधानी पोर्ट ओ प्रिन्सलाई जोड्ने पुल भत्किएपछि यहाँको स्थिति भयावह बनेको यहाँको गृह मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।     आँधीपछि विस्थापित बनेका नागरिकलाई विद्यालय, चर्चलगायतका सार्वजनिक ठाउँमा राखिएको छ । आँधीका कारण यहाँका विद्यालयमा सोमबारसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।

    आँधीकै कारण हाइटीका विभिन्न भागमा घर भत्किएका, रुखहरू ढल्दा यातायात आवत जावतमा कठिनाई भएको र कतिपय सहरी तथा ग्रामीण वस्ती जलमग्न भएको मन्त्रालयले जनाएको छ । घटनाबाट भएको क्षतिबारे यहाँको गृह मन्त्रालयले अझै विवरण संकलन भइरहेको बताएको छ ।

    आगामी आइतबार गरिने भनिएको राष्ट्रपतीय तथा संसदीय निर्वाचन आँधीपछि स्थगित हुने वा नहुने सम्बन्धमा सरकारी अधिकारीले अझै निर्णय भइनसकेको बताएका छन् ।

    यसैबीच आँधीबाट करिब पाँच मिटरसम्मको अग्लो तरङ्ग सिर्जना गर्दै क्युबाको पूर्वी भागतिर गएपछि क्युबाले आफ्ना करिब १३ लाख नागरिकलाई सुरक्षित स्थलतर्फ सारेको छ ।

    क्युबामा आँधीका कारण भएको पूर्णक्षतिको बारेमा विवरण आइनसकेको क्युबाली अधिकारीले जनाएका छन् । उक्त आँधी क्रमशः अमेरिकी राज्य दक्षिण फ्लोरिडा, उत्तरी क्यारोलिना, जर्जियातिर अघि बढेको समाचारमा जनाइएको छ ।
अमेरिका पुग्यो म्याथु

    आँधीका कारण अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडामा आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा चुनावी सम्बोधन गर्न तय गरिएको कार्यक्रम रद्द भएको छ ।

    दक्षिणी क्यारोलिनाबाट करिब ११ लाख मानिसलाई तटीय क्षेत्रबाट सुरक्षित स्थलतर्फ सार्ने तयारी गरेको छ । आँधी म्याथु शुक्रबारसम्म सक्रिय रहने यहाँ मौसम विभागले जानकारी दिएको छ । अमेरिकाका फ्लोरिडा र साउथ क्यारोलाइना राज्यका गभर्नरहरुले म्याथ्यु नामक आँधी जाने बाटोमा पर्ने क्षेत्रका हजारौँ मानिसलाई अनिवार्य रुपमा अन्यत्र सार्न निर्देशन दिएका छन्।

स्थानीयबासिन्दाहरु तटीय क्षेत्रबाट अन्यत्र जान थालेपछि साउथ क्यारोलाइनाको चार्ल्स्टन शहरमा सवारीसाधन अस्तव्यस्त भएका छन् । फ्लोरिडा राज्यका गभर्नर रिक स्कट्टले आँधी जाने बाटोमा पर्ने क्षेत्रका मानिसहरुलाई जतिसक्दो चाँडो सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

हेइटीको दक्षिण(पश्चिमी प्रायद्वीप भएर विनाश निम्त्याउँदै तेस्रो तहमा झरेको म्याथ्यु नामक आँधी अहिले बाहामास पुगेको छ । आँधीको वेग अहिले प्रतिघण्टा दुई सय किलोमिटरभन्दा बढी रहेको अधिकारीहरुले बताएका छन् । एक दशकयताकै शक्तिशाली उक्त आँधीले बाहामासमा तीव्र गतिमा हावा, भारी वर्षा र खतरनाक आँधीबेहरी निम्त्याएको छ । अमेरिकामा तटीय क्षेत्रका बासिन्दाहरुले अत्यावश्यक सामान भण्डारण गर्न थालेका छन् ।

६ वर्षअघि गएको विनाशकारी भूकम्पपछि हाइटीका दशौँ हजार बासिन्दा अझै पालमुनि बस्दै आएका छन् । अधिकांश सञ्चार सम्पर्क टुटेका छन् र सबैभन्दा बढी प्रभावित दक्षिण–पश्चिमी प्रायद्वीपमा मुख्य पुल ध्वस्त भएको छ ।

अधिकारीहरुका अनुसार क्षतिको आंकलन गर्न गाह्रो भइरहेको छ । म्याथ्यु आँधीका कारण हाइटी र छिमेकी डोमिनिकन रिपब्लिकमा हालसम्म ६ जनाको ज्यान गएको बताइएको छ र उक्त संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
क्याप्सन ः हाइटीको राजधानी पोर्ट यु प्रिन्समा मंगलबार देखिएको आँधीको दृश्य । तस्बिर ः रोयटर्स

प्रकाशित: २१ आश्विन २०७३ ०३:५२ शुक्रबार

हाइटीमा आँधीले २३ को ज्यान लियो