अन्तर्राष्ट्रिय

टर्कीमा शक्तिशाली भूकम्प, दुई हजारभन्दा बढीको मृत्यु

टर्कीमा सोमबार गएको भूकम्पले क्षतिग्रस्त भवनमा हराएकाहरूलाई खोज्दै उद्धारकर्मी । तस्बिर: रोयटर्स

टर्कीमा सोमबार सबेरै गएको भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएको छ। ७ दशमलव ८ रेक्टर स्केलको उक्त भूकम्पले टर्की र सिरियाका सयौं घर क्षतिग्रस्त भएका छन्। उद्धारकर्मीका अनुसार सयौं मानिस अझै भग्नावशेषमा पुरिएका कारण मृतकको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ। दुवै देशका सीमा क्षेत्रमा सोमबारै गएको उक्त भूकम्पका कारण सर्वसाधारण पानी परिरहेका बेला घरबाहिर चिसोमा बस्न बाध्य भएका थिए। पहिलो भूकम्प गएको केही घन्टामा त्यहाँ अर्काे शक्तिशाली भूकम्प गएको थियो। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार दोस्रो भूकम्प ७ दशमलव ५ रेक्टर स्केलको रहेको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमा नै दोस्रो भूकम्प गएको हो।  

पहिलो भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियान्टेप प्रान्त रहेको थियो। यो क्षेत्रमा लाखौं सिरियाली शरणार्थीहरूको बसोबास छ। टर्कीले संकटकालको घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ। टर्कीमा एक अस्पताल भवन भत्केपछि बिरामी र नवजात शिशुलाई अन्यत्र सारिएको छ। टर्कीको अदाना सहरका एक स्थानीयले आफ्नो घरनजिकैका तीन घर ध्वस्त भएको बताए। भग्नावशेषभित्र किचिएका एकजनाले सहयोगका लागि याचना गरेको आफूले सुनेको पत्रकारिताका विद्यार्थी मोमम्मेत फतिह याभुसले बताए।  

टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दाेगानले उद्धार कार्य जारी रहेकाले कतिजनाको मृत्यु भएको र कति घाइते भएको भन्ने अझै यकिन नभएको बताएका छन्। स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा पहिलो भूकम्प गएको थियो।  

भूकम्पको धक्का राजधानी अंकारासहित विभिन्न सहरमा महसुस भएको र भूकम्पपछि पराकम्पहरू पनि आइरहेको अधिकारीहरूले बताएका छन्। भूकम्पको केन्द्र बिन्दु गाजियान्टेपस्थित २ हजार वर्ष पुरानो एक कासल (दरबार) को अधिकांश हिसा क्षतिग्रस्त भएको छ। भूकम्पीय जोखिमका हिसाबले विश्वकै अग्रसूचीमा टर्की पर्छ। टर्कीको उत्तर–पश्चिममा सन् १९९९ मा गएको एक शक्तिशाली भूकम्पका कारण १७ हजारभन्दा बढीको ज्यान गएको थियो। युरोपेली संघ, नेदरल्यान्ड्स र रुमेनियालगायत देशले खोजी तथा उद्धार टोली पठाएको जनाएका छन् भने अमेरिकाका राष्ट्रपति जो बाइडेनले सम्बद्ध निकायलाई तत्काल सहयोग पु¥याउन निर्देशन दिएका छन्।

प्रकाशित: २४ माघ २०७९ ००:२८ मंगलबार

भूकम्प