अन्तर्राष्ट्रिय

अमेरिकाले चिनियाँ जासुसी बेलुन खसालेपछि तनाव

आफ्नो सामुद्रिक क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको भन्दै अमेरिकी लडाकु विमानले खसालिदिएपछि अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ। अमेरिकाले आफ्नो संवेदनशील सैनिक क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको भनेको छ। चीनले भने संयोगवश उक्त बेलुन  त्यहाँसम्म पुगेको दाबी गरेको छ। चीनले अमेरिकी कारबाहीको बदला लिने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनपछि लडाकु विमानले दक्षिण क्यारोलिनाको तट एटलान्टिक महासागरमा शनिबार चिनियाँ जासुसी बेलुन खसालिदिएको अमेरिकी रक्षासचिव लोयड अस्टिनले बताएका छन्। राष्ट्रपतिले बुधबार यस्तो निर्देशन दिए पनि जमिनमाथि रहेका बेलाभन्दा समुद्रमाथि रहेका बेला बेलुन खसाल्दा क्षति नहुने भन्दै अमेरिकी सैनिक विमानले शनिबार मात्र खसालेका हुन्।

लडाकु विमानको प्रहारपछि सिधै समुद्रमा खसेको बेलुनको अवशेष खोज्ने प्रयास अमेरिकी सैनिकले जारी राखेका छन्। खोजीमा नौसैनिक पानीजहाज र क्रेन परिचालन गरिएको अमेरिकी अधिकारीले बताएका छन्।

चीनले अमेरिकी कारबाहीको निन्दा गरेको छ। उसले अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको अमेरिकी प्रतिक्रियाविरुद्ध ‘थप कारबाही’ गर्ने चेतावनी दिएको छ। चीनको विदेश तथा रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसमा चीनले आवश्यक कारबाही गर्ने अधिकार राख्छ ।’

चीनले मौसमसम्बन्धी अनुसन्धानका लागि उक्त बेलुन उडाइएको र संयोगवश त्यसले आफ्नो दिशा बदलेको दाबी गरेको छ। चीनले उक्त बेलुन जासुसी प्रयोजनका लागि नउडाइएको प्रस्ट पारेको छ।

पछिल्ला वर्षहरूमा चीन-अमेरिका सम्बन्ध तनावपूर्ण रहँदै आएको छ।

पछिल्लो यो घटनाले सम्बन्ध थप तनावपूर्ण बनेको छ। यसै घटनाका कारण अमेरिकी रक्षा सचिव ब्लिन्केनको प्रस्तावित चीन भ्रमण रद्द गरिएको छ। यो भ्रमणल दुई देशबीचको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको थियो। चिनियाँ बेलुन खसाल्ने अमेरिकी सैनिक कारबाहीको राष्ट्रपति बाइडेनले प्रशंसा गरेका छन्।

उक्त बेलुन खसाल्नुअघि अर्को बेलुन पनि ल्याटिन अमेरिकामा उडिरहेको अमेरिकाले जनाएको थियो। तर चीनको परराष्ट्र मन्त्रालयले अर्को बेलुनको विषयमा कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकी आकाशमा चिनियाँ बेलुन उडाइएको यो पहिलोपटक भने होइन।

एक अमेरिकी अधिकारीका अनुसार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा कम्ती तीन पटक र बाइडेन राष्ट्रपति बनेपछि यसअघि एकपटक चिनियाँ बेलुन अमेरिकी आकाशमा देखिएका थिए। तर यसपटक चिनियाँ बेलुन लामो समयसम्म अमेरिकी आकाशमा रहेको अमेरिकाको दाबी छ।

प्रकाशित: २३ माघ २०७९ ०१:५० सोमबार

अमेरिका र चीनबीच तनाव दक्षिण क्यारोलिनाको तट एटलान्टिक महासागर