अन्तर्राष्ट्रिय

बालुचिस्तानमा दख्खल नदिन भारतलाई चीनको चेतावनी

बेइजिङ–भारतले पाकिस्तानको बालुचीस्तानमा आफ्नो प्रभाव देखाउँदै दख्खल दिए आफूहरु चुप लागेर नबस्ने चीनले चेतावनी दिएको छ। चीनको एक प्रभावकारी संस्थाले चीन र पाकिस्तानबीच हुन लागेको करिब ४६ अरब डलरको सहयोग सम्झौता सिपीइसीमा बाधा पुर्‍याउन खोजे चीन चुप लागेर नबस्ने बताएको हो।

उसले चीन–पाकिस्ताको सम्झौतामा बाधा पुर्‍याउने षड्यन्त्रमा नलाग्न पनि भारतलाई चेतावनी दिएको छ। चाइना इन्ष्टिच्युट अफ कन्टेम्पररी इन्टरनेशनल रिलेशनका निर्देशक हु सिसेङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै बालुचीस्तानको नाम लिएको र यो आफूहरुका लागि चिन्ताको विषय रहेको बताए हुन्। ‘भारतले पहिलोपल्ट दंगाग्रस्त बालुचीस्तानको नाम लिएको छ, हामीलाई डर छ की भारतले त्यहाँ सरकार विरोधी तत्वको प्रयोग गर्न सक्छ, जुन हाम्रालागि  पनि खतराको घण्टी हो, त्यसैले भारत पाकिस्तान-चीनको सम्बन्धलाई बाधा पुर्‍याउने षड्यन्त्र गरेमा चीन चुप लागेर बस्दैन,’ उनले भने।

सिपीइसीले बालुचीस्तानमा रहेको ग्वादर बन्दरगाहलाई चीनको सबै भन्दा ठूलो बन्दरगाह सिनजियाङसँग जोड्ने परियोजना अघि सारेको थियो। जसमा भारतले विरोध जनाउदै आएको छ। हुले भने, ‘बालुचीस्तानमा दंगा भड्कँदा यो परियोजनामा असर पर्छ। यदि यसो भएमा भारत चीनको सम्बन्ध कुन अवस्थामा जान्छ त्यो भारतलाई राम्रोसँग थाहा छ।’

पाकिस्तानले बालुचीस्तानमा भएको हिंसामा भारतो हात रहेको आरोप लगाउँदै आएको छ। उसले भारतले काश्मिर क्षेत्रमा जस्तै बालुचीस्तानमा पनि दंगा भड्काउन खोजेको र त्यसो गरेमा आफूहरु चुप लागेर नबस्ने पाकिस्तानले बताउँदै आएको छ। हुले भारत र अमेरिकाबीच भैरहेको रक्षा सम्झौता पनि आफूहरुको चिन्ताको विषय रहेको उल्लेख गरे।

प्रकाशित: १३ भाद्र २०७३ ०७:३८ सोमबार

बालुचिस्तानमा दख्खल नदिन भारतलाई चीनको चेतावनी