टर्की–सिरियाको सीमा क्षेत्रमा पर्ने टर्कीको सहर घाजियान्टेपमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको बम आक्रमणमा परी ३० व्यक्तिको मृत्यु भएको छ । यो बम आक्रमण इस्लामिक स्टेट्स आइएस समूहले गराएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले दावी गरेका छन् ।
घाजियान्टेपका गभर्नर अलि येर्लिकायाद्वारा प्रकाशित एक विज्ञप्तिमा विवाह समारोह लक्षित यस विभत्स आतङ्ककारी आक्रमणमा परी अन्य ९४ जना घाइते भएका छन् । राष्ट्रपति इर्डोगानद्वारा प्रकाशित एक विज्ञप्तिमा टर्कीले असफल सैनिक विद्रोह गराउने इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सद्वगठन (एफइटिओ), कुर्दिस वर्करस् पार्टी (पिकेके) इस्लामिक स्टेटस् (आईएस) समूहहरु एक किसिमका भएका र यी समूहबीच फरक नभएको बताएका छन् ।
अमेरिकामा स्वघोषित निर्वासनमा रहेका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि गत १५ जुलाइमा भएको असफल ‘कू’ प्रयासको आरोप राष्ट्रपति इर्डोगानले लगाउँदै आएका छन् । तर गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दावी गर्दै यस कूको प्रयासमा कुनै सङ्लग्नता नरहेको दावी गर्दै आएका छन् ।
समाचार संस्थाहरुका अनुसार सो विवाह समारोहमा कुर्दिस समूहको बाहुल्यता रहेका हुनाले आक्रमण कुर्दिस समूहलक्षित रहेको छ । यस वर्ष टर्की आइएस र कुर्दिस आतङ्ककारी समूहले गराएको शृङ्खलावद्ध आक्रमणको शिकार भएको छ । गत जुन महिनामा इस्ताबुलस्थित एक विमानस्थलमा भएको आतङ्ककारी आक्रमणमा परी ४० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो ।
बम विस्फोट गराउने १२ वर्षीय बालक
टर्कीको विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानले जानकारी दिएका छन् । सो हत्याकाण्डपछि आइतबार स्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका थिए ।
उनले सो पत्रकार सम्मेलनमा भने ‘प्रारम्भिक सूचनाअनुसार यो बम विस्फोटमा संलग्न एक बालक रहेको र उसको उमेर १२ देखि १४ वर्षको रहेको पाइएको छ । ’ विस्फोटमा संलग्न आत्मघाती हमलाकारी रहेको पनि उनले बताए । सो हमलामा आईएसको हात रहेको पनि उनको दावी थियो ।
यस आक्रमणमा आईएस समूहको योजना रहेको प्रारम्भिक सू्चनामा पाइएको र यसको खोजी अझै व्यापक मात्रामा भइरहेको पनि उनले जनाएका थिए ।
उनले सो हमलामा परी मारिनेको सङ्ख्या ५१ पुगेको पनि जानकारी दिए । घाइतेको सङ्ख्या ६९ रहेको र १७ जना नराम्ररी घाइते भएको उनले पत्रकार सम्मेलनका क्रममा बताए ।
प्रकाशित: ६ भाद्र २०७३ ०५:०७ सोमबार