अन्तर्राष्ट्रिय

कास्ट्रोको ९०औं जन्मदिनमा ९० मिटर लामो सिगार

बेइजिङ्ग-क्युबाका लोकप्रिय क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले आफ्नो ९०औँ वार्षिक जन्मोत्सव मनाएका छन् ।
जन्मोत्सवका दिन लाखौँ क्युवावासी तथा विदेशबाट समेत उनलाई चिरायु र शुभकामनाको ओइरो लागेको छ । त्यस्तै क्युवाली जनताले पनि उल्लासका साथ सांस्कृतिक र मनोरन्जनात्मक गतिविधि आयोजना गरी देशैभरी उनको जन्मदिन मनाउँदैछन् ।

पूर्वराष्ट्रपति क्यास्ट्रोलाई सिगार (चुरोट) मन पर्ने हुँदा एकजना सिगार उत्पादकले ९० मिटर लामो विश्वको सबभन्दा ठूलो सिगार बनाई उनलाई भेट गरेर सम्मानसमेत अर्पण गरेका छन् ।

क्युवाली सरकारी सञ्चार माध्यममा ‘द बर्थ डे’ शीर्षकमा आज पूर्वराष्ट्रपति क्यास्ट्रोको एउटा आत्मपरक रचना प्रकाशित भएको छ । उक्त लेखमा क्यास्ट्रोेले पूर्वी क्युबामा जन्म भई आफ्नो वाल्यकालमा बिताएका रमाइला दिन, किशोराअवस्थामा गरेका पढाइ र युवावस्थामा प्रवेश गरेपछि क्रान्तिको नेतृत्व सुरु गरेको, आफ्नो पिताको मृत्यु भएको इत्यादि सबै स्मरण गरी सबिस्तार वर्णन गरेका छन् ।
साथै, सन् १९५९ मा तत्कालिन अमेरिकी अधिनायकवादी तानाशाह फल्गेन्सियो बाटिस्टाको सरकारलाई अपदस्थ गर्नमा कसरी भूमिका खेलिएको थियो सो पनि उक्त लेखमा सबिस्तार उल्लेख गरेका छन् ।

‘विश्वका दुई ठूला शक्तिराष्ट्र ः रुस तथा चीनले गरेका सामरिक शक्ति सञ्चय र आणविक प्रगतिलाई कसैले रोक्न र छेक्न सक्दैन । क्युवा उपर अमेरिकी राष्ट्रपतिले गाडेको गिद्धे नजर मैले करिव आधा शताब्दिसम्म प्रतिरोध गर्दै आएको थिएँ’ उक्त लेखमा भनिएको छ ।
क्युवाका गुप्तचर एजेन्सी संस्थाका अनुसार यी क्रान्तिकारी र कट्टर अमेरिका विरोधी नेता क्युवाली क्रान्ति पश्चात् सन् १९५९ मा सत्तामा आएपछि सन् २००८ मा अवकाश नलिउन्जेलसम्म दुस्मनले यिनका विरुद्ध विभिन्न थरी र कुनैकुनै त ज्यानै लिनेसम्मका छ सयभन्दा बढी षड्यन्त्रहरु रचेका थिए ।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०५:३८ मंगलबार

कास्ट्रोको ९०औं जन्मदिनमा ९० मिटर सिगार