अन्तर्राष्ट्रिय

‘नक्कली गोरक्षकसँग सावधान’

भारत–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाईका नक्कली संरक्षकका कारण तनाव फैलिएको आरोप लगाएका छन् । आइतबार तलंगाना राज्यमा बोल्दै उनले गो रक्षाका नाममा गोरख धन्दा भइरहेको आरोप लगाए । शनिबार पनि मोदीले ८० प्रतिशत मानिस गोरक्षाका नाममा गलत धन्दा गरिरहेको आरोप लगाएका थिए । मोदीले त्यस्ता मानिसहरुले आफूलाई ’क्रुद्ध’ बनाएको र गोरक्षाका नाममा भएका आक्रमणको अनुसन्धान हुनुपर्ने बताए ।

भिजिलान्तेहरुले तल्लो जातिका मानिसहरुलाई कुटपिट गरेको बारे केही नबोलेको भन्दै प्रधानमन्त्री मोदीको आलोचना हुँदै आएको थियो । उनले नक्कली गो रक्षकसँग सावधान रहन पनि सबैसँग अपिल गरेका छन् । उनले राज्य सरकारलाई यस्ता अपराधीलाई नछा्ड्न आग्रह गरेका छन् ।

पछिल्लो महिना गुजरातमा गाई हत्याका आरोप लगाउँदै केही दलितमाथि कुटपिट गरिएको खबर चर्चामा थियो । तर पीडितहरुले गाईको सीनो छाला निकाल्नका लागि लगेको र त्यो उनीहरुको परम्परागत काम रहेको बताएका थिए ।

त्यसैगरी जुलाई महिनामा दुइजना मुश्लिम महिलाहरुलाई हिन्दुवादीहरुले गाईको मासु बोकेको आरोपमा कुटपिट गरेका थिए । शनिबार राजधानी दिल्लीमा बोल्दै मोदीले भारतभरका प्रान्तीय सरकारलाई त्यस्ता भिजिलान्ते आक्रमणको अनुसन्धान गर्न अह्राउने बताए ।

उनले भने, ‘७०–८० प्रतिशत त्यस्ता मानिसहरु असामाजिक गतिविधिमा संलग्न पाइएको छ र तिनले आफुलाई बचाउन गाई संरक्षकको खोल ओढ्ने गरेका छन् ।’
गाईका विषयमा विभिन्न समयमा विवाद उठेपनि मोदीले अहिलेसम्म मुख खोलेका थिएनन् । विश्लेषकहरुका अनुसार मोदीको मौनताका पछाडि उनी हिन्दु राष्ट्रवादीको भोट नकाटियोस् भन्ने चाहनाले काम गरेको थियो ।

गत वर्ष पनि एकजना इश्लाम धर्मावलम्बीले गाईको मासु जम्मा पारेर राखेको र खाएको हल्लाका आधारमा ती व्यक्तिको हत्या गरिएको दुइ हप्तासम्म पनि मोदीले कुनै टिप्पणी गरेका थिएनन् । दुई हप्तापछि बल्ल मोदीले मुख खोल्दा उनको निकै आलोचना भएको थियो । कैयौं भारतीय राज्यहरुमा गाई काट्न प्रतिबन्ध लगाइएको छ । तर सत्तारुढ भारतीय जनता पार्टीले सरकारलाई गाई संरक्षणमा थप काम गर्न दवाव दिँदै आएका छन् । भारतमा  १.२ अर्ब जनसंख्याले हिन्दु धर्म मान्ने तथ्यांक छ ।

 

प्रकाशित: २४ श्रावण २०७३ ०६:१७ सोमबार

नक्कली गोरक्षकसँग सावधान