अन्तर्राष्ट्रिय

आक्रमणमा दश विदेशी पर्यटकको मृत्यु

हेरात अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बिहीबार भएको एक एम्बुस आक्रमणमा कम्तीमा १० विदेशी पर्यटकको मृत्यु हुनुको साथै अन्य ६ घाइते भएका जिल्ला सरकारले जानकारी दिएको छ ।

हेरात प्रान्तको चिस्ती सारिफ जिल्लाको प्रमुख सडकमा विदेशी पर्यटक बोकेर गईरहेको दुई वटा मिनीबसमा बन्दुकधारीले गरेको आक्रमणमा परी १० विदेशी पर्यटकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका जिल्ला गर्भनर फर्हाद खदीमीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

मारिएका ती विदेशी पर्यटकको राष्ट्रियता र विस्तृत विवरण भने प्राप्त भईनसकेको बताइएको छ । गर्भनर खदीमीकाअनुसार सो दुई मिनिबस बम्यान प्रान्तबाट हेरात प्रान्ततर्फ गईरहेको थियो । अगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा हेरात प्रान्त पर्दछ ।

यस आक्रमणपछि सुरक्षाबलले अन्य कैयौ यात्रुहरुको उद्धार गरेको र यस आक्रमणको अनुसन्धान जारी रहेको बताइएको । यस अक्रमणको हालसम्म कुनै पनि समूहले भने जिम्मा लिएको छैन् । रासस

प्रकाशित: २० श्रावण २०७३ १२:०७ बिहीबार

आक्रमणमा दश विदेशी पर्यटकको मृत्यु