अन्तर्राष्ट्रिय

किशोरावस्थामा मस्तिष्क कसरी परिवर्तन हुन्छ?

युनिभर्सिटी अफ क्याम्ब्रिजको एक टोलीले किशोरावस्थाको बेलामा प्रायः परिवर्तन हुने मस्तिष्कको क्षेत्र पहिचान गरेको छ। मस्तिष्कको जाँचले ती जटिल सोच प्रक्रियासँग सम्वन्धित क्षेत्र भएको देखाएको छ।

वैज्ञानिकहरुले किशोरावस्थामा हुने मस्तिष्कको विकास र स्किजोफ्रेनियाजस्ता मानसिक रोगबीचको सम्वन्ध पनि पत्ता लगाएका हुन्। यो अनुसन्धान नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित भएको छ।

क्याम्ब्रिज विश्वविद्यालयको मनोविज्ञान विभागले १४ देखि २४ वर्ष उमेर समूहका तीन सय जनाको मस्तिष्कको परीक्षण गरेकेा थियो।

किशोरावस्थामा पुग्दासम्म दृष्टि, श्रवण र चालजस्ता शरीरको आधारभूत कार्य सञ्चालनसँग सम्वन्धित मस्तिष्कको क्षेत्र पूर्ण रुपमा विकास भए पनि जटिल सोच र निर्णय गर्ने क्षमतासँग सम्वन्धित क्षेत्र भने परिवर्तन भइरहन्छ।

यी स्नायुका केन्द्रहरु हुन् जहाँ अन्य प्रमुख क्षेत्रबाट जोडिने धेरै कुराहरु पर्दछन्। तपाईंले मस्तिष्कलाई विश्वव्यापी एयरलाइन सञ्जालको रुपमा सोच्न सक्नुहुन्छ जुन साना साना विमानस्थल र हिथ्रो विमानस्थलजस्ता ठूलाठूला र व्यस्त विमानस्थलसँग जोडिएका हुन्छन्। मस्तिष्कले पनि हाम्रो विचार र गतिविधिको संयोजन गर्न यस्तै सेटअपको प्रयोग गर्छ।

किशोरावस्थामा, ठूला हबहरुको यो नेटवर्क जोडिन्छ र बलियो बनाइन्छ। यो लामो समय लगाएर बेलायतको हिथ्रो विमानस्थल वा अमेरिकाको जोन एफ केनेडी विमानस्थल व्यस्त र ठूलो हुँदै गएजस्तो हो।

अनुसन्धाताहरुले त्यसपछि मस्तिष्कका यी 'हबहरु' को विकासमा समावेश हुने जिनहरुको अध्ययन गरे। उनीहरुले ती जिनहरु स्किजोफ्रेनियाजस्ता धेरै मानसिक रोगसँग सम्वन्धित जस्तै भएको पत्ता लगाए। अनुसन्धाता डा. किर्स्टी ह्वाइटेकरका अनुसार, यो आविष्कार किशोरावस्थामा विकास हुने धेरै मानसिक समस्याजस्तै छन्।

धेरै अध्ययनहरुले जेनेटिक्सका अलावा बाल्यावस्था र किशोरावस्थामा हुने तनाव मानसिक समस्यासँग जोडिने गरेको देखाएका छन्। नयाँ पत्ता लागेका कुराहरुमा दुर्व्यवहार र वेवास्ताले किशोरावस्थामा हुने महत्वपूर्ण मस्तिष्क विकास र उच्चतम मस्तिष्क प्रकार्यलाई अवरोध पुर्याउँछन्।

प्रमुख अनुसन्धाता प्राध्यापक एड बुलमोरले किशोरावस्थामा हुने मस्तिष्क विकास र मानसिक रोग शुरु हुनुबीचको जैविक सम्वन्ध पत्ता लगाउनाले अनुसन्धाताहरुलाई विरामी हुने सबैभन्दा जोखिममा रहेकाको पहिचान गर्न सघाउन सक्ने बताउँछन्। उनको यो परियोजनालाई वेलकम ट्रस्टले आर्थिक सहयोग गरेको थियो।

'जब हामीले मानिसलाई स्किजोफ्रेनियाको जोखिममा पार्न सक्नेबारे थप बु‰यौ, यसले हामीलाई निकट भविष्य वा दुईदेखि तीन वर्षमा स्किजोफ्रेनियाको जोखिममा रहेका मानिसहरुको पहिचान गर्ने प्रयास गर्ने अवसर दिएको छ। क्लिनिकल लक्षणहरुको आधारमा यसबाट जोगाउन सकिने केही उपचार विधिहरु पनि दिन सक्ने अवसर पनि आएको छ,' उनले भने।

अध्ययनले किशोरकिशोरीहरुले सामान्य मस्तिष्क विकासको समयमा अनुभव गरेका भाव र व्यवहार परिवर्तन पनि झल्काएको छ। 'धेरै परिवर्तन भइरहने क्षेत्रहरु जटिल व्यवहार र निर्णय गर्ने कुरासँग सम्वन्धित छन्', डा. ह्वाइटेकरले भनिन्।

'यसले किशोरकिशोरीहरु वयस्क हुने यात्रामा लागिरहेका छन् र यी सबै खालका सूचना र जानकारीहरु तान्न सक्ने भएका छन् भन्ने देखाउँछ,' उनले थपिन्। यो जीवनमा पार गरिने निकै महत्वपूर्ण चरण भएको र यो समयमा किशोरकिशोरी बालबालिका हुन नचाहने पनि उनले बताइन्। 'यो मानिसहरुले पार गर्नुपर्ने शक्तिशाली र महत्वपूर्ण चरण हो जुन मानिसहरु सबैभन्दा उत्तम र सक्षम वयस्क हुनका लागि प्रयास गर्छन्।'

स्किजोफ्रेनियाका लक्षणहरुः

• भ्रमहरु

• सोच्न कठिनाई

• शरीरलाई अरु कसैले नियन्त्रण गरेकेा छ भन्ने महसुस हुने

• मतिभ्रम

• रुचि शक्ति र संवेदनामा कमी

स्रोतः बीबीसी

प्रकाशित: १५ श्रावण २०७३ ०५:१६ शनिबार

किशोरावस्थामा मस्तिष्क कसरी परिवर्तन हुन्छ