सोल–दक्षिण कोरियाले उत्तर कोरियाले फेरि पनि अर्काे क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको जानकारी प्राप्त भएको जनाएकोे छ । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको छ । उत्तर कोरियाका आणविक क्षेत्रका विभिन्न क्रियाकलापहरु हेर्दा उसले फेरि पनि यस्तो तयारी गरिरहेको जानकारी पाइएको दक्षिण कोरियाली ती अधिकारीले जनाएका छन् ।
दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा सोमबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता जियोन जुङ हीले उत्तरले पछिल्ला केही दिनयता देखाएको क्रियाकलापले उसले अर्काे क्षेप्यास्त्र परीक्षण गर्न लागेको जानकारी दिए । आइतबार मात्र पनि जापानी सरकारी समाचार समिति, क्योटोले उत्तर कोरियाका केही शंकास्पद क्रियाकलापहरु सूचनामा आएकोले उसले अर्काे परीक्षणको तयारी गरेको हुन सक्ने बताएको छ ।
तर कुन क्षेत्रमा उसले के कस्तो खालाको क्षेप्यास्त्र हान्दैछ भन्ने विषयमा भने कुनै संकेत प्राप्त नभएको दक्षिण कोरियाली रक्षामन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयले भनेको छ, ‘के कस्तो परीक्षण हो भन्ने बारेमा कुनै सूचना पाइएको छैन तर हामी चाँडै पत्ता लगाउँछौं ।’ सो तयारीको सूचना पनि सोलले प्राप्त गरेको जनाएको थियो । सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो ।
यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको थियो । त्यस यता के हँुदैछ भन्ने बारेमा अध्ययन गरिएको र हालैका दिनमा भने उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ ।
दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको र सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले हालैमात्र अस्वीकार गरेको थियो । उत्तर कोरियाली नेताले आफ्नो पार्टीको बैठकको अवसरमा दुई महिनाअघि गरेको सम्बोधनका क्रममा उनले दक्षिण कोरियासँग वार्ता गरी सबै समस्याको टुङ्गो लगाउने बताएका थिए ।
उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृङ्खला अझै रोकिएको छैन । यस्तो शृङ्खलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसङ्घ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले बारम्बार आग्रह गर्दापनि उत्तर कोरियाले आणविक परीक्षणको रोकेको छ ।
प्रकाशित: ४ श्रावण २०७३ ०३:१० मंगलबार