अन्तर्राष्ट्रिय

फिलिपिन्समा बाढीका कारण ४६ हजार बढी विस्थापित

फाइल तस्बिर

फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन्।

देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका कारण आठ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना बेपत्ता भएका छन्।

क्याथोलिक धर्मावलम्बीको बाहुल्यता रहेको यस देशको सबैभन्दा महत्वपूर्ण चाडको अवसरमा मनाइने उत्सवमा आइतबार आएको बाढीले क्षति पु¥याएको छ।

'शनिबार र आइतबार व्यापाक वर्षाका कारण केही क्षेत्रमा पानी करिब चार फिटसम्म जम्मा भएको छ तर सोमबार वर्षा रोकिएको छ,' गिङ्गोग शहरबाट नागरिक सुरक्षाकर्मी रोबिन्सन लाक्रेले बताए।  

सामुद्रिक सुरक्षा गार्डले दक्षिणी शहर ओजामीज र नजिकैको क्लारिन शहरका दुई दर्जनभन्दा बढी परिवारका सदस्यलाई उद्धार गरेको जनाएको छ।

सामुद्रिक सुरक्षागार्डले सार्वजनिक गरेको तस्बिरमा उद्धारकर्ताले रातको समयमा बालबालिकालाई घरहरूबाट उद्धार गरी कम्मरसम्म डुबेको अवस्थामा बाढीको पानी पार गरिरहेको देखिएको छ। नजिकैको दक्षिणी शहर जिमेनेज र टुडेलामा डुबेर तीन जना र एक अन्य गरी चार जनाको मृत्यु भएको छ।

सुरक्षा गार्डका अनुसार तीव्र हावाहुरी र ठूलो छालका कारण क्रिसमसको दिन मध्य टापु लेटेको तटमा माछा मार्ने एउटा डुङ्गा डुबेको थियो। चालक दलका दुई सदस्यको मृत्यु भएको छ भने अन्य छ जनाको उद्धार गरिएको छ।

पूर्वी शहर लिब्मानन र तिनामबाकमा क्रिसमसको केही दिनअघि आएको बाढीका कारण एक बालिकासहित अन्य दुई जनाको डुबेर मृत्यु भएको नागरिक सुरक्षा कार्यालयले जनाएको छ।

उन्नाइस जना हराइरहेका छन्, जसमध्ये अधिकांश देशको प्रशान्त महासागरीय तटका निर्वाहमुखी मछुवाहरू हुन्। उनीहरू क्रिसमसको केही दिन अघि कठिन सङ्घर्षका बावजुद समुद्रमा डुबेका थिए।

११ करोड जनसङ्ख्या भएको यो विपत्तिग्रस्त राष्ट्रले क्रिसमसको लामो बिदाको तयारी गरिरहँदा मौसम खराब भएको थियो।

क्रिशमसका समय लाखौं मानिसहरू पारिवारिक पुन: मिलनको लागि आफ्नो गृहनगरमा आउने गर्छन्।

फिलिपिन्स जलवायु परिवर्तनको प्रभावको हिसाबले सबैभन्दा जोखिमयुक्त राष्ट्रहरूमध्ये एकमा पर्दछ।

वैज्ञानिकहरूले संसारभरि तापक्रम बढ्दै जाँदा आँधीबेहरी अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन्।

प्रकाशित: ११ पुस २०७९ ०९:२३ सोमबार

बाढी