अन्तर्राष्ट्रिय

अमेरिकी दूतवास नजिक आत्मघाती विस्फोट

जिद्दा–साउदी अरेवियाको जिद्दा शहर नजिक रहेको अमेरिकी वाणिज्य दूतवास नजिकै आत्मघाती विस्फोट गराइएको छ। साउदी सरकारले मंगलबार एक विज्ञप्ति जारी गर्दै विस्फोटको जानकारी दिएको हो ।

सो विस्फोटमा परी आत्मघाती हमलाकारीको मृत्यु भएको छ भने दूतावासका दुई सुरक्षा अधिकारी सामान्य घाइते भएका छन्। सुरक्षा अधिकारीले एक व्यक्तिलाई  डा.सुलेमन फकिज अस्पतालको कार पार्किङ नजिकै शंकास्पद कार्य गरेको देखेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

उक्त व्यक्तिलाई पक्राउ गर्न खोज्दा सो व्यक्तिले आफैले बम विस्फोट गराएको सरकारका प्रवक्ता मजिन मनसुर अल तुर्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। साउदीमा रहेको अमेरिकी दुतावासले एक विज्ञप्ति जारी गर्दै  साउदीमा रहेका अमेरिकी नागरिकहरुलाई कतै यात्रा गर्दा सर्तकता अपनाउन र आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।

उक्त विस्फोट अमेरिकी स्वतन्त्रता दिवस मनाउनु केही घण्टा अघि गराइएको हो। सन् २००४ मा पनि उक्त वाणिज्य दुतावास नजिकै विस्फोट गराइएको थियो जसमा ९ जनाको मृत्यु भएको थियो।

 

प्रकाशित: २० असार २०७३ ०५:५० सोमबार

अमेरिकी दूतवास नजिक आत्मघाती विस्फोट