अन्तर्राष्ट्रिय

‘विवाह भन्दा पहिलेको यौन तुच्छ’

चीन–चीनमा यौन शिक्षा सम्बन्धी एक किताबले विवाह भन्दा पहिले शारीरिक सम्बन्ध राख्ने केटीहरु ‘वाहियात’ भएको निष्कर्ष प्रस्तुत गरेको छ । चीनको सामाजिक सञ्जाल वेवसाइट बीबोमा मानिसहरुले यसप्रति रोष प्रकट गरेका छन् ।
हाइस्कुलमा पढाइने सो किताबमा विवाह भन्दा पहिले शारीरिक सम्बन्ध राख्ने युवतीमा नकारात्मक मनोवैज्ञानिक तथा शारीरिक प्रभाव पर्ने बताइएको छ ।

किताब चीनमा सन् २००४ देखि पढाइदै आइएको छ तर विवाद त्यतिबेला सुरु भयो जब सोही विषय पढाउने एक शिक्षकले यसको अनुच्छेद बीवोमा पोस्ट गरिदिए । यसपछि चीनमा यो विषय चर्चाको अग्रपंक्तिमा आएको छ । धेरैले किताबलाई वाहियात र अवैज्ञानिक भनी टिप्पणी गरेका छन् ।
‘आफ्नो शरीर सुम्पदैमा केटीहरुले केटाबाट प्रेम पाउँदैनन् बरु उल्टै उनीहरुको महत्व घट्छ,’ एक अनुच्छेदमा भनिएको छ, ‘यही कारणले केटीहरुले आफ्नो प्रेम पनि गुमाउँछन् ।’

किताब प्रकाशकले सरकारी अखबार ग्लोबल टाइम्ससँग् कुराकानीमा आफ्नो बचाऊ गरेका छन् । पुस्तकमा भएका शब्द अपमानजनक नभएको र विकृत जस्ता शब्द ‘कोट’ गरेको दाबी गरेका छन् । तर बीवोमा टिप्पणी गर्नेहरुको रिस शान्त भएको छैन । केहीले केटीहरुलाई मात्र दोष दिएकोमा लेखकको संकुचित मानसिकताको धज्जी उडाएका छन् ।

‘ताली दुई हातले बज्छ । एक हातलेमात्र बज्दैन ,’ एक महिला टिप्पणीकर्ताले लेखेकी छिन् । अर्का पुरुष प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेका छन् ,‘यसको एउटै उपचार छ, केटीहरुलाई ताला चाबी लगाएर सधैं कोठामा बन्द राखौं । त्यसो ग¥यो भने मात्र उनीहरु तुच्छ हुँदैनन् ।’
त्यसैगरी अर्का एक पुरुषले लेखेका छन् ,‘पुरुषको रुपमा यस्तो धारणाप्रति मलाई अपसोच छ । यदि तपाई युवतीहरुले विवाह पूर्व यौन सम्बन्ध नराखून् भन्ने चाहानुहुनछ भने कृपया सबै युवकले पनि त्यसै गर्न लगाउनुस् ।’

जोङ गुवानक्वान, सेनझेनकी शिक्षिका जसले पहिलो पल्ट अनुच्छेद सामाजिक सन्जालमा राखेकी थिइन्, उनले पहिलो पल्ट नै त्यो पाठ पढ्दा असाध्यै रिस उठेको बताइन् ।

‘किताबको पाठ र पाठमा लेखकले व्यक्त गरेका धारणा असाध्यै सतही र परम्परागत सोचबाट ग्रसित छन् । लेख जानाजान युवतीलाई गिराउन लेखे जस्तो देखिन्छ,’ उनले एक पत्रिकासँगको कुराकानीमा भनेकी छिन् ।
सामाजिक सन्जालमा हंगामा भएसँगै सम्बन्धित प्रान्तको शिक्षा विभागले पुस्तकको पाठमाथि पुनर्विचार गर्ने बताएको छ । सन् २००४मा पहिलो पल्ट प्रकाशित पुस्तक सन् २००६देखि यता वितरण नगरिएको स्थानीय प्रकाशकले दाबी गरेको छ ।

 

प्रकाशित: १५ असार २०७३ ०५:२३ बुधबार

विवाह भन्दा पहिलेको यौन तुच्छ