स्वास्थ्य

डेङ्गु सङ्क्रमण ह्वातै घट्यो

वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ। वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो। अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ। जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै गएको छ।

वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए। अहिले त्यो सङ्ख्या निकै घटेको छ। गत मङ्गलबार ९यही कात्तिक १५ देखि कात्तिक २० गते० सम्म छ सय २४ जनामा मात्र डेङ्गुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

जवकी अंग्रेजी महिना अक्टोबरमा ९गत असोज १५ देखि कात्तिक १५सम्म० मा १७ हजार सात सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले डेङ्गुको सङ्क्रमण विगत दुई हप्तादेखि घटेको बताए। उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामको आधारमा डेङ्गुका बिरामी घटेको बताए।

महाशाखाकै कीटजन्यरोग शाखाप्रमुख डा गोकर्ण दाहालले जनवरीदेखि ३७औँ हप्तासम्म डेङ्गुको सङ्क्रमण बढेको र त्यसपछि ३८औँ हप्तादेखि घटन सुरु भएको जानकारी दिए। उहाँका अनुसार ४३औँ हप्तामामा हजारभन्दा कमको सङ्ख्यामा डेङ्गुका बिरामी भेटिएका छन्। ४४औँ हप्तामा आइपुग्दा छ सय २४ जनामा मात्र डेङ्गुको सङ्क्रमण देखिएको छ। 

उनले अवको १५ दिनभित्र यो सङ्ख्या निकै कम हुने बताए। महाशाखाका निर्देशक डा दासका अनुसार सङ्क्रमण दर उच्च भएको बेला नेपालमा डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ चार प्रकारका देखिएका थिए।

महाशाखाका निर्देशक डा दासले सङ्क्रमण अघि  गरिएको १२ वटा नमूनामा सात वटामा डेङ्गु–१ र पाँच वटा नमूनामा डेङ्गु–३ देखिएको जानकारी दिए। अहिले फेरि कुन तहको डेङ्गु रहेको छ भनेर पत्ता लगाउनका लागि नमूना परीक्षण गरिएको छ। त्यसको रिर्पोट अझै नआएको उनको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलका अनुसार अहिले अस्पतालमा नौ जना मात्र बिरामी रहेका छन्। तीमध्ये तीन जना सघन उपचार कक्ष ९आइसियु० र छजना साधारण शय्यामा उपचाररत रहेका छन्। अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा. बिमल चालिसे विगत १५ दिनदेखि डेङ्गुका बिरामी आउनेको सङ्ख्यामा कमी भएको बताए।

उनले जाडो भएसँगै डेङ्गुको सङ्क्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेङ्गुका बिरामी घटेको बताए।

उनले अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र परीक्षण गराउने आउने बिरामी घटेको बताए। अस्पतालमा पहिले दैनिक एक सय ५० देखि एक सय ७० बिरामी उपचार गर्न आउने गरेपनि अहिले त्यो सङ्ख्या घटेको छ। साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्दथ्यो।

नेपालमा यसवर्ष सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन्। असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका हुन्। यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेङ्गुका बिरामी भेटिएका छन्।

तीमध्ये ५४ जनाको डेङ्गुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले डेङ्गुका बिरामी घटेको बताए। उनका अनुसार अहिले २० जना मात्र डेङ्गुका बिरामी उपचारत रहेका छन्।

प्रकाशित: २१ कार्तिक २०७९ ११:३९ सोमबार

डेङ्गु