स्वास्थ्य

सन्दकपुरमा रेबिजले त्रास

फाइल तस्बिर

जिल्लाको सन्दकपुर गाउँपालिकामा रेबिज संक्रमित कुकुरले अढाई दर्जन हाराहारी गोठमा बाँधेका गाईबस्तुलाई टोकेपछि रेबिज फैलिने त्रास बढेको छ। दर्जनभन्दा बढी कुकुरमा रेबिज संक्रमण भएको देखिएपछि गाउँमा त्रास फैलिएको हो।

सन्दकपुर १, आलुुबारीमा २८ गते स्थानीय राम राईको कुकुर उम्किएर छिमेकीको गोठमा बाँधिएका गाईबस्तुलाई टोक्दै हिँडेको थियो। कुकुरले अस्वाभाविक लक्षण देखाउँदै गाउँका २७ गाईबस्तुलाई टोकेको थियो भने ३० भन्दा बढी कुकुरसँग संसर्ग गरेको गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी वेदनिधि दुलालले जानकारी दिए। स्थानीयले नियन्त्रण लिन खोज्दा राति १२ बजे कुकुर मरेको थियो। नमुना परीक्षण गर्दा कुकुरमा रेबिज देखिएको उनले जनाए। आलुबारी क्षेत्रमा कुकुुरले टोकेका दुईवटा गाई मरेका छन्।

दुलालका अनुसार वडा ३, सुलुबुङमा पनि रेबिज फैलिएको आशंका छ। असोज १६ गते सुलुुबुङका एक किसानको गाईको बाछालाई पनि कुुकुरले टोकेको थियो। सुलुबुङसँगै सीमा जोडिएको इलाम नगरपालिका २, सुम्बेकमा पनि कुकुरले गोठमा बाँधिएका पशुलाई टोक्दै हिँडेको दुलालले बताए।

रेबिजको शंका भएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले कुकुरले टोकेका पशु र नियन्त्रणमा खटिएका शाखाका कर्मचारीलाई समेत रेबिजविरुद्धको खोप लगाइएको छ। ‘रेबिज सम्भावित करिब चार चार सय पशुमा खोप लगाउन आवश्यक छ’, उनले भने, ‘अवस्था हेरी एउटै पशुलाई तीन डोजसम्म लगाउनुपर्ने हुन सक्छ।’  

कुुकुरले टोकेका पशुलाई गोठ–गोठमा सुरक्षित राखिएको तर कतिपय गाईबस्तुमा सुस्त हुनेजस्ता लक्षण देखिएको उनले बताए। ‘मान्छेमा भने अहिलेसम्म त्यस्तो लक्षण देखिएको छैन’, उनले भने, ‘तर, जोखिम भएकाले रेबिज नियन्त्रणमा खटिने कर्मचारीलाई रेबिजविरुद्धको खोप लगाएका छौं।’ 

प्रकाशित: १ कार्तिक २०७९ ०२:५२ मंगलबार

रेबिज