स्वास्थ्य

मकवानपुरमा डेंगीका बिरामी चार हजार भन्दा बढी

बागमती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म डेंगीको सङ्क्रमणबाट चार हजार एक सय ३१ जना बिरामी भएका छन्।  

मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिमा डेंगीका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ। हेटौँडा उपमहानगरपालिकामा हालसम्म तीन हजार चार सय ७५ जनामा डेंगीको सङ्क्रमण भएको सो कार्यालयले जनाएको छ।  

जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेङ्गुका बिरामी बढी रहेको जनाइएको छ। डेंगीका बिरामी बढेसँगै हेटौँडा अस्पताल, निजी क्लिनिक तथा नर्सिगं होममा बिरामीको चाप अत्यधिक रहेको छ।

 डेंगीका गम्भीर बिरामीलाई भरतपुर तथा काठमाडौँका अस्पतालमा पठाउने गरिएको छ।  

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगी सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा बढी सहरी क्षेत्रमा पाइने गरेको छ। डेंगी हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, आँखामाथिको भाग दुख्नेलगायतका समस्या देखिन्छ। 

प्रकाशित: ३० आश्विन २०७९ ११:०८ आइतबार

डेँगी